काठमाडौं । बंगलादेश र नेपालमा संयुक्त रुपमा आयोजना हुने आईसीसी यु-१९ महिला विश्वकपको खेलतालिका सार्वजनिक भएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद्(आईसीसी)ले सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालमा विश्वकपको १५ खेल हुनेछ ।
विश्वकपको समूह ‘ए’मा भारत, आयरल्याण्ड, वेस्ट इन्डिज र नेपाल रहेका छन् भने समूह ‘बी’मा दक्षिण अफ्रिका, न्युजिल्याण्ड, पाकिस्तान, सामोआ, समूह ‘सी’मा अष्ट्रेलिया, बंगालादेश, नाइजेरिया र युएई तथा समूह ‘डी’मा इंग्ल्याण्ड, श्रीलंका, अमेरिका र स्कटल्याण्ड रहेका छन् ।
समूह ‘ए’ र समूह ‘डी’को खेल नेपालको कीर्तिपुरस्थित टियु क्रिकेट मैदान र उपल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ ।
प्रतियोगिताको पहिलो दिन कुल चार खेल हुनेछ । पहिलो खेलमा बंगलादेश र युएई तथा अष्ट्रेलिया र नाइजेरिया भिड्नेछन् । दुवै खेल बंगलादेशमा हुनेछ । अर्को दुई खेलमा श्रीलंका र स्कटल्याण्ड तथा इंग्ल्याण्ड र अमेरिका भिड्नेछन् । उक्त दुई खेल मुलपानीमा हुनेछ ।
सबै समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् । सुपर सिक्समा ६/६ टोलीको दुई समूह हुनेछ । उक्त दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल ६ फेब्रअरीमा बंगलादेशमा हुनेछ ।
नेपालले आफ्नो पहिलो खेल २२ जनवरीमा आयरल्याण्ड, २४ जनवरीमा भारत र २६ जनवरीमा वेस्ट इन्डिजसँग खेल्नेछ । सबै खेल टियु क्रिकेट मैदानमा हुनेछ ।

