आर्थिक छलाङ मार्नका लागि सरकारलाई साथ दिन निजी क्षेत्रलाई रवि लामिछानेको आग्रह

काठमाडौँ । सरकारले आफूहरुलाई धरपकड गर्न थालेको भन्दै व्यवसायीले गुनासो गर्न थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले व्यवसायीसँग छलफल थालेको छ ।

आइतबार निजी क्षेत्रका उद्योगी व्यवसायीहरुसँग रास्वपाका सभापति रवि लामिछानेले छलफल गरेका हुन् । छलफलमा सभापति लामिछानेले आफ्नो पार्टीको सरकार बनेपछि लगानीको वातावरण सुधारका लागि सरकारले काम सुरु गरिसकेको बताए । उनले निजी क्षेत्रमाथि सरकारले कुनै धरपकड नगर्नेमा निर्धक्क हुन आग्रह गरेका छन् ।

उनले रास्वपाले चुनावअगाडि जनतासामु गरेको वाचा निजी क्षेत्रको साथबिना पूरा नहुनेमा आफूहरु जानकार रहेको पनि बताए । उनले भने, ‘रास्वपाले जे वाचा गरेको छ त्यो पूरा गर्न निजी क्षेत्रको साथ चाहिन्छ। तपाईँहरुको साथबिना सम्भव छैन। विभिन्न समयमा निजी क्षेत्रमाथि भएको आक्रमणलाई हामीले गम्भीर रुपमा लिएका छौं। तपाईँहरू ढुक्क हुनुस्, व्यवसायीलाई धरपकड गर्ने, व्यवसाय बिगार्ने हाम्रो कुनै मनसाय छैन। तर बेथितिको अन्त्य चाहिँ हुनैपर्छ ।’

उनले अब उद्योगी व्यवसायीले कसैलाई पनि गुहार्न नपर्ने गरी कानुनी सुधार गर्ने बताए । उनले निजी क्षेत्रसँग हातेमालो नगरी आर्थिक छलाङ मार्न नसकिने भन्दै त्यसमा साथ दिन आग्रह गरे । उनले लगानी प्रवर्धनका लागि सहज हुने गरी करका दर हेरफेर गर्ने भन्दै पूर्वाधार विकासमा सरकारलाई निजी क्षेत्रको ठूलो साथ चाहिने बताए । छलफलमा सभापति लामिछानेसहित सांसदहरू गणेश पराजुली, विदुषी राणालगायत थिए ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल चेम्बर अफ कमर्शका कार्यवाहक अध्यक्ष दीपक मलहोत्रालगायतको सहभागिता रहेको थियो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा पक्राउ परेपछि निजी क्षेत्र सरकारसँग त्रसित बेको छ । उनीहरुले पहिला सुन्न र पछि मात्र थुन्न आग्रह गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *