काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कलैया, बाराका तत्कालीन इन्जिनियर किशोरप्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले बिहीबार यादवविरुद्ध अकुत सम्पत्ति आर्जनको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो । यादवले आफ्नो सेवा अवधिमा प्राप्त वैध आयभन्दा १ करोड ४६ लाख ८१ हजार रुपैयाँ बढी कमाएको देखिएपछि भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
यो अवधिमा उनको परिवारको कूल वैध आय ३ करोड ४६ लाख रुपैयाँ देखिएको छ। सोही अवधिमा यादवले जग्गा खरिद, घर निर्माण, सेयर खरिद, सवारी साधन र अध्ययन लगायतमा ४ करोड ९३ लाख रुपैयाँ खर्च गरेका छन् ।
अख्तियारले अवैध रुपमा आर्जन गरेको सम्पत्ति उनले श्रीमती निर्मला कुमारीको नाममा समेत राखेको देखिएको छ। अख्तियारले उनलाई पनि प्रतिवादी बनाएको छ ।


