काठमाडौँ । प्रधामन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा महिलातर्फ एपीएफ क्लब र नेपाल पुलिस क्लबले विजयी शुरुवात गरेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको कभर्डहलमा आज बिहान भएको खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हरायो । एपीएफले पहिलो सेट २५–२३, तेस्रो र चौथो दुवै सेट २५–१९ ले जित्यो । आर्मीले दोस्रो सेट २५–१७ ले जित्यो ।
यस्तै अर्काे खेलमा पुलिसले एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा हरायो । पुलिसले पहिलो सेट २६–२४, दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–१७ ले जित्यो ।
नेपाल भलिबल सङ्घ (एनभीए) को आयोजनामा आजदेखि शुरू भएको प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यस्तै उपविजेताले ५ लाख र तेस्रो हुनेले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
