इरान-अमेरिका वार्ता अनिश्चित, हर्मुज नाकाबन्दीले विश्व ऊर्जा बजारमा उथलपुथल

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता नभएसम्म हर्मुज क्षेत्रमा लगाइएको नाकाबन्दी नहटाइने बताएका छन् । युद्ध अन्त्यका लागि नयाँ वार्ता हुने/नहुनेबारे अन्योल कायमै रहेका बेला उनको यस्तो भनाई आएको हो ।

एक साताअघि सुरु गरिएको नाकाबन्दीले ‘इरानलाई पूर्ण रूपमा ध्वस्त पारिरहेको’ ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। उनले द्वन्द्वमा अमेरिका ‘स्पष्ट रूपमा अघि’ रहेको दाबी समेत गरेका छन् ।

अमेरिका–इरानबीच भएको अस्थायी युद्धविराम बुधबार सकिन लाग्दा पनि दोस्रो चरणको शान्ति वार्ता हुने/नहुनेबारे निश्चितता छैन। पाकिस्तानमा सम्भावित बैठकलाई ध्यानमा राख्दै राजधानी क्षेत्रमा सुरक्षा कडा बनाइएको छ।

अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गर्ने भनिएका उपराष्ट्रपति जेडी भान्स अझै वाशिङ्टनबाट प्रस्थान गरेका छैनन् भने इरानले पनि वार्तामा सहभागी हुनेबारे निर्णय गरेको छैन ।

नाकाबन्दी सुरु भएयता अमेरिकी सेनाले २७ वटा जहाजलाई फर्कन वा इरानी बन्दरगाहतर्फ जान निर्देशन दिएको अमेरिकी सेन्ट्रल कमाण्डले जनाएको छ।

यसैबीच, आइतबार नाकाबन्दी तोड्ने प्रयास गरेको इरानी झण्डा बोकेको मालवाहक जहाजलाई अमेरिकाले नियन्त्रणमा लिएको छ। सेन्टकमका अनुसार चेतावनीपछि सैनिकहरू जहाजमा चढेर नियन्त्रणमा लिएका थिए।

तेहरानले उक्त कदमलाई ‘समुद्री डकैती’ भन्दै दुई देशबीचको नाजुक युद्धविरामको उल्लंघन भएको प्रतिक्रिया दिएको छ।

इरानले पनि करिब दुई महिनादेखि स्ट्रेट अफ होर्मुजमा आफ्नै नाकाबन्दी कायम राखेको छ, जसका कारण विश्व ऊर्जा बजारमा मूल्यवृद्धि भएको छ। शनिबार केही समयका लागि मार्ग खोलिए पनि जहाजहरू लक्षित भएको खबरपछि पुनः बन्द गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *