‘पञ्चायती निरङ्कुशतामासमेत सरकारले धृष्टता गर्न नसकेको यस्तो विषयमा त्रिविका उपकुलपतिले कसरी हस्ताक्षर गर्न सक्नुभयो ?’

काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठनको अस्तित्व निषेध गर्ने निर्णय चरम अलोकतान्त्रिक भएको बताएका छन् ।

सोमबार सामाजिक संजालमार्फत ज्ञवालीले पञ्चायती निरङ्कुशतामा समेत सरकारले धृष्टता गर्न नसकेको यस्तो विषयमा हस्ताक्षर गर्न विश्वविद्यालयका उपकुलपतिज्यूहरूले कसरी सकेको भन्दै प्रश्न गरेका छन् ।

उनले भनेका छन्, ‘विद्यार्थीहरूको स्वतन्त्र विद्यार्थी युनियनको अधिकार खोस्ने र विश्वविद्यालयबाट विद्यार्थी सङ्गठनका गतिविधि, उपस्थिति र अस्तित्वलाई निषेध गर्ने निर्णय चरम अलोकतान्त्रिक हो । अझ यसका लागि विश्वविद्यालयभित्र ‘सुरक्षा युनिट’ स्थापना गर्नु भनेको विश्वविद्यालयको प्राज्ञिक स्वायत्ततामाथिको हस्तक्षेप हो । पञ्चायती निरङ्कुशतामा समेत सरकारले धृष्टता गर्न नसकेको यस्तो विषयमा हस्ताक्षर गर्न विश्वविद्यालयका उपकुलपतिज्यूहरूले कसरी सक्नु भए होला ?’

उनले विद्यार्थी आन्दोलनमा समस्या भएपनि विद्यार्थी संगठनलाई निषेध गर्नु समाधान नभएको बताएका छन् ।

उनले भनेका छन्, ‘निःसन्देह, विद्यार्थी आन्दोलनमा समस्या छन् । आम विद्यार्थीहरूका हित, शिक्षाको गुणस्तर अभिवृध्दि र स्वस्थ शैक्षिक वातावरण निर्माणमा ‘क्याटालिस्ट’ बन्नु पर्ने विद्यार्थी आन्दोलन घरीघरी मूल मुद्दाबाट बरालिएको पनि छ । तर विद्यार्थी सङ्गठनलाई निषेध गर्नु समस्याको समाधान होइन । समाधान त उनीहरूसँग संवाद, रचनात्मक सहकार्य र गुणस्तरीय शिक्षाका लागि विद्यार्थी आन्दोलनको रूपान्तरण हो । के तपाईँ कपालमा चायाँ पर्यो भनेर गर्धन नै छिनाउनु हुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *