काठमाडौँ । नेपाली कांग्रेसले भारतबाट एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सार शुल्क लिइएकोप्रति आपत्ति जनाएको छ ।
आइतबार प्रवक्ता देवराज चालिसेले विज्ञप्ति जारी गरी सरकारी व्यवहारहरू जनविरोधी भएको बताएका हुन् । कांग्रेसले ‘सानो खरिदमै अतिरिक्त शुल्क लगाउनु भनेको जनताको क्रयशक्ति कमजोर पार्नु मात्र नभई, गरिबीलाई संस्थागत गर्ने नीतिगत कदम’ भएको आरोप पनि लगाएको छ ।
यस प्रकारको नीतिले विशेषगरी मधेशका सीमावर्ती नागरिकहरूमा राज्यबाट भेदभाव भएको अनुभूति बढाएको उल्लेख गर्दै कांग्रेसले ‘राष्ट्रिय एकता र सामाजिक न्यायका लागि गम्भीर चुनौती बन्न सक्ने’ चेतावनी दिएको छ।

