काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ । सांगठनिक र संरचनागत सुधारका विषयमा छलफल गर्न रास्वपाले आज सचिवालय बैठक बोलाएको हो ।
आज दिउँसो ३ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्नेछ । बैठकमा पार्टीको आगामी महाधिवेशन र जिल्ला अधिवेशनको तयारीबारे ठोस छलफल हुने बताइएको छ ।
प्रस्तावित कार्यसूची अनुसार ‘जिल्ला अधिवेशन कार्यविधि–२०८३’ र ‘महाधिवेशन कार्यविधि मस्यौदा समिति’ गठन गर्ने विषयलाई मुख्य एजेन्डा बनाइएको छ । यस्तै, बैठकमा केन्द्रीय आयोग तथा सल्लाहकार परिषद् गठन, संघीय नेतृत्व मञ्चको विस्तार र पार्टीका विभिन्न विभागमा मनोनयन गर्ने तयारी छ ।
बैंक खाता सञ्चालन सम्बन्धी नयाँ व्यवस्था र विभिन्न परियोजनाका लागि विज्ञ आह्वान गर्ने विषयमा पनि छलफल हुने रास्वपाले जनाएको छ ।
