पार्टीको आधिकारिकता विवादमा सर्वोच्चको फैसला मान्ने देउवा पक्षको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको विवादका विषयमा सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने भएको छ ।

शनिबार पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा बसेको बैठकले अदालतको फैसलाप्रति असहमति भएपनि सर्वोच्चको फैसला मानेर अघि बढ्ने निष्कर्ष निकालेको नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

उनले अब पार्टीलाई एकताबद्ध बनाएर लैजाने जिम्मा सभापति गगन थापाको जिम्मेवारी भएको बताए । उनले भने, ‘अब सर्वोच्च अदालतले अहिलेका विशेष महाधिवेशनबाट आएका सभापति गगन थापाको खुट्टामा अदालतले बल फालिदिएको छ । त्यसैले उहाँले अब कसरी पार्टीलाई एकताबद्ध बनाउनुहुन्छ, कसरी पार्टीलाई ठूलो बनाउनुहुन्छ, कसरी पार्टीलाई भावनात्मक रूपले सबै एक स्वरले नेपाली कांग्रेसका पक्षमा आबद्ध हुने वातावरण बनाउनुहुन्छ, त्यो उहाँको खुट्टामा छ ।’

सर्वोच्चको फैसलापछि आफूहरूले गगन थापालाई पार्टी सभापति मानेको उनले बताए । उनले हिजोदेखि पूर्णबहादुर खड्का निवर्तमान कार्यवाहक सभापति भएको बताए । उनले सर्वोच्चको फैसलाअघिसम्म पूर्णबहादुर खड्का कार्यवाहक सभापति नै रहेको तर फैसलापछि भने निवर्तमान बनेको बताए ।

उनले अब पार्टी एकताका लागि बृहत् परामर्श गर्ने बताए । उनले भने, ‘एकताका लागि सबै पक्षसँग परामर्श आवश्यक छ । सबैसँग बृहत् परामर्श गर्ने भन्ने निष्कर्ष बैठकको छ ।’

सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता विवाद शुक्रबार टग्याएको थियो । सर्वोच्चले देउवा पक्षको रिट खारेज गर्दै गगन थापा नेतृत्वलाई आधिकारिकता दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *