काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वोच्च अदालतको निर्णयले पार्टीका सबै साथीहरूलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको बताएका छन् ।
शनिबार सामाजिक संजालमार्फत सभापति थापाले यो कुनै जित–हारको विषय नभई, विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय भएको बताएका हुन् ।
उनले भनेका छन्, ‘सम्मानित सर्वोच्च अदालतको निर्णयले पार्टीका सबै साथीहरूलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको छ। यो कुनै जित–हारको विषय होइन, विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय हो । पार्टीका सदस्य र शुभेच्छुकहरू, देशभित्र वा बाहिर जहाँ भए पनि, अब आ–आफ्नो ठाउँबाट अझ जिम्मेवारीका साथ पार्टीको एकता र पुनर्जागरणका लागि सकारात्मक भूमिका हुनेछ भन्ने मेरो विश्वास छ। पार्टीको सभापतिको हैसियतले यस प्रक्रियामा सबैभन्दा ठूलो जिम्मेवारी मेरो नै हो भन्नेमा म स्पष्ट छु र त्यसअनुसार सक्रिय रूपमा लाग्नेछु।’
सभापति थापाले पन्ध्रौँ महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेकाले महाधिवेशनलाई सफल पार्दै पार्टीलाई रूपान्तरण र सुदृढ बनाउने अवसरका रूपमा उपयोग गर्न आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘पन्ध्रौँ महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको छ। महाधिवेशनलाई सफल पार्दै पार्टीलाई रूपान्तरण र सुदृढ बनाउने अवसरका रूपमा उपयोग गरौँ । अग्रजहरूको योगदानको सम्मान गर्दै, नयाँ पुस्ताको आकाङ्क्षा सम्बोधन गर्न सक्ने र समुन्नत नेपाल बनाउन योगदान दिन सक्ने पार्टी बनाउन अब हामी सबै एक ढिक्का भएर अघि बढौँ।’
शुक्रबार सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वलाई आधिकारिता प्रदान गर्दै पूर्वसभापति शेरबहादुर देउवा पक्षबाट दायर रिट खारेज गर्ने फैसला सुनाएको थियो ।
