नेपालमा ‘युथ पायोनियर’ कार्यक्रम संचालन गर्दै चिनियाँ दूतावास

काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले नेपालका युवालाई लक्षित गर्दै ‘चिनियाँ दूतावास युवा अग्रणी कार्यक्रम (CNYP)’ सार्वजनिक गरेको छ ।

नागरिक सहभागिता, सांस्कृतिक आदान–प्रदान र व्यावसायिक विकासमार्फत युवा सशक्तिकरण गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार कार्यक्रमले नेपालको समाज र अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउन सक्षम ऊर्जावान युवाको सञ्जाल निर्माण गर्ने लक्ष्य राखेको छ । नेतृत्व विकास, सामाजिक प्रगतिको प्रवद्र्धन तथा समुदायमा आधारित परियोजनामार्फत स्थानीय समस्या समाधानमा युवाको भूमिका बढाउने कार्यक्रमको प्रमुख उद्देश्य रहेको छ ।

२२ देखि ३४ वर्ष उमेर समूहका विभिन्न क्षेत्रका युवा, अभियन्ता तथा अग्रणीहरू कार्यक्रममा सहभागी हुन सक्नेछन् । सहभागीहरूलाई नेतृत्वसम्बन्धी तालिम, कार्यशाला तथा चीन भ्रमणजस्ता अवसर प्रदान गरिने बताइएको छ । साथै, चिनियाँ कूटनीतिज्ञ, विद्वान र उद्यमीसँग अन्तरक्रिया गर्ने तथा दूतावासका विभिन्न कार्यक्रममा सहभागी हुने अवसर पनि उपलब्ध हुनेछ । कार्यक्रमअन्तर्गत नियमित नेटवर्किङ कार्यक्रम, प्यानल छलफल र सामाजिक जमघट आयोजना गरिनेछन् ।

सहभागीहरूले एक वर्षसम्म कार्यक्रमका विभिन्न गतिविधिमा सक्रिय सहभागिता जनाउनुपर्नेछ भने कार्यक्रमपछि उनीहरू पूर्वसदस्य सञ्जालमा आबद्ध हुनेछन् ।

आवेदन दिने अन्तिम म्याद मे १७, २०२६ तोकिएको छ । प्राप्त आवेदनमध्ये उत्कृष्ट १० देखि २० जना छनोट गरिने दूतावासले जनाएको छ । दूतावासले कार्यक्रम समावेशी र विविधतामूलक बनाउने प्रतिबद्धता जनाउँदै विभिन्न पृष्ठभूमिका युवालाई आवेदन दिन आह्वान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *