मलाई लाग्छ इरानसँग सम्झौता धेरै छिट्टै हुनेछः ट्रम्प

वासिङ्टन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सहकार्य गर्दै त्यहाँको समृद्ध युरेनियम संकलन गरी अमेरिकामा फिर्ता ल्याउने योजना रहेको बताएका छन् ।

रोयटर्ससँगको अन्तर्वार्तामा ट्रम्पले अमेरिका इरानसँग मिलेर युरेनियम उत्खनन कार्य अघि बढाउने र संकलित युरेनियम अमेरिकामा ल्याइने बताएका हुन् । तर इरानले भने आफ्नो समृद्ध युरेनियम अमेरिकामा स्थानान्तरण गर्ने कुनै सहमति नभएको स्पष्ट पारेको छ ।

इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाइले सरकारी टेलिभिजनमार्फत युरेनियम विदेश पठाउने विकल्प नै नभएको बताएका छन् ।

इरानसँग ६० प्रतिशतसम्म शुद्धतामा समृद्ध गरिएको ९०० पाउन्डभन्दा बढी युरेनियम रहेको अनुमान छ । इरानको आणविक कार्यक्रम अमेरिका–इरान वार्तामा जटिल र संवेदनशील विषयका रूपमा रहँदै आएको छ । युद्धको प्रमुख कारण इरानलाई आणविक हतियार बनाउनबाट रोक्नु रहेको ट्रम्पको भनाइ छ ।

युद्ध अन्त्य गर्ने सम्भावित सम्झौताप्रति उत्साहित देखिएका ट्रम्पले सम्झौता अन्तिम नहुँदासम्म अमेरिकाले इरानविरुद्धको नौसैनिक नाकाबन्दी कायम राख्ने बताए ।

‘मलाई लाग्छ, सम्झौता धेरै छिट्टै हुनेछ। हामी इरानसँग निकै राम्रोसँग मिलिरहेका छौँ’ उनले भने । सम्झौतामा पुग्न अझै थप वार्ता आवश्यक रहेको बताउँदै ट्रम्पले ती वार्ता ‘सायद सप्ताहन्ततिर’ हुने जानकारी दिए। उनले सम्झौता भएपछि इस्लामाबाद जाने सम्भावना पनि रहेको उल्लेख गरे, यद्यपि त्यसबारे अन्तिम निर्णय नभएको स्पष्ट पारे ।

ट्रम्पका अनुसार अमेरिका इरानसँग मिलेर जलडमरूमध्य क्षेत्रमा राखिएका बारुदी सुरुङ हटाउने काममा समेत जुटिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *