इलाम। इलामको जस्बिरे गाउँबाट सुरु भएको एक परिवारको सङ्घर्ष र सफलताको कथा अहिले अन्तर्राष्ट्रिय बजारमा चर्चाको विषय बनेको छ।
वि.सं. २०४२ मा पत्रकार तथा लेखक स्वर्गीय भैरव रिसालले आलुखेती सिकाउन जाँदा रोपेको चियाको बीउ आज एउटा प्रतिष्ठित ‘ब्रान्ड’ बनेको छ।
स्थानीय सूर्य सुब्बाका चार भाइ छोराहरूले सञ्चालन गरेको ‘जस्बिरे चिया प्रशोधन उद्योग’ अहिले इलामको मात्र नभई नेपालकै गौरव बनेको छ।
१० वर्षअघि मात्र १४ लाख रुपैयाँबाट सुरु भएको यो उद्योगको लगानी अहिले ८ करोड रुपैयाँ पुगिसकेको छ। शरद् र गृष्म सुब्बाले सुरु गरेको यस अभियानमा अहिले परिवारका सबै सदस्य आ-आफ्नो दक्षता अनुसार खटिएका छन्।
उद्योगले आफ्नै ६० रोपनी र भाडाको ४०० रोपनी जमिनमा चियाखेती गरिरहेको छ भने गाउँका १८५ घरपरिवारको चिया समेत संकलन गर्ने गर्दछ।
उद्योगको सफलताको मुख्य कडी परिवारभित्रको कार्यविभाजन हो। माइला छोरा शरद् सुब्बा नेपालकै ‘बेस्ट टी मेकर’ हुन्, जसले ‘नेपाल टी च्यालेन्ज–२०२४’ मा अवार्ड समेत जितेका थिए।
उनी भन्छन्, “फरक सिजन, मौसम र उचाइअनुसार चियाको स्वाद र मूल्य फरक हुन्छ। हामी गुणस्तरमा सम्झौता गर्दैनौँ।” जेठा छोरा गृष्म बजार व्यवस्थापन हेर्छन् भने साहिँला निर्विकल्प प्राविधिक पक्ष र कान्छा विकल्प अष्ट्रेलियामा मार्केटिङको अध्ययन गर्दैछन्।
यस उद्योगले सुनकेसरी, रेडपान्डा र कोठीडाँडा ब्युटी जस्ता ३५ भन्दा बढी प्रकारका अर्गानिक अर्थोडक्स चिया उत्पादन गर्दछ। यहाँको ‘स्पेशल टी’ को माग विश्वभर छ।
उद्योगले प्रतिकेजी १५ हजारमा बेच्ने चिया विदेशी बजारमा १ लाख रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। गृष्म सुब्बा भन्छन्, “हामीले कस्तो चिया उत्पादन गर्छौं भन्ने कुरा सरकारले अन्तर्राष्ट्रिय स्तरमा मार्केटिङ गरिदिए नेपाली चियाको पहुँच अझै बढ्ने थियो।”
सफलताको यो बाटो सधैं सहज भने थिएन। २०८१ फागुनमा विद्युत् सर्ट भएर आगलागी हुँदा उद्योगमा ८ करोडको क्षति भएको थियो। तर, सुब्बा परिवार हार मानेन। शून्यबाट पुनः उठ्दै उनीहरूले यस वर्ष १ लाख केजी चिया उत्पादन गर्ने लक्ष्य राखेका छन्। स्थानीय किसान मिलन मुखियाले भने, “गाउँमै उद्योग भएपछि हामीलाई नबिक्ला कि भन्ने पिर छैन, पूरै गाउँ नै चियामय बनेको छ।”
आज जस्बिरेको चिया अमेरिका, जापान, जर्मनी र फ्रान्स जस्ता विकसित देशहरूमा पुग्ने गरेको छ। सरकारी अनुदानको भर नपरी आफ्नै पौरखले उभिएको यो उद्योगले कृषि उद्यममा लाग्न चाहने युवा पुस्ताका लागि एउटा बलियो प्रेरणा दिएको छ। इलाम नगरपालिकाका प्रमुख केदार थापाले पनि यस परिवारलाई जिल्लाकै सफल र उदाहरणीय उद्यमीको रूपमा स्वीकार गरेका छन्।
