दक्षिण फिलिपिन्समा उग्रवादीमाथि कारबाही

फिलिपिन्स। दक्षिण फिलिपिन्समा इस्लामवादी उग्रवादी सञ्जालविरुद्ध सुरक्षा बलले सञ्चालन गरेको कारबाहीमा १० जना संदिग्ध लडाकू मारिएका छन्।

पक्राउ गर्ने प्रयासका क्रममा उनीहरूले प्रतिरोध गरेपछि एक घण्टासम्म चलेको भीषण गोलीबारीमा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटना मुस्लिम जनसङ्ख्या बढी रहेको दक्षिणी क्षेत्रमा भएको हो। त्यहाँ इस्लामिक स्टेटबाट प्रेरित साना समूहहरू अझै सक्रिय रहेको बताइन्छ।

सुरक्षा बलहरू बिहान हुनुअघि मारान्टाओ सहर नजिक पुगेका थिए, जहाँ मौटे–दौला इस्लामिया नामक सशस्त्र समूहका नेता आमेरोल मङ्गोरान्कालाई पक्राउ गर्ने योजना थियो।

मङ्गोरान्का र उनको समूहविरुद्ध हत्या, अपहरण तथा अन्य गम्भीर आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा गिरफ्तारी वारेन्ट जारी गरिएको थियो। तर पक्राउ गर्ने प्रयाससँगै उनका समूहका सदस्यहरूले प्रतिरोध जनाएपछि सुरक्षाकर्मी र उग्रवादीबिच गोली हानाहान सुरु भएको थियो।

क्षेत्रीय प्रहरी प्रतिवेदनअनुसार उक्त मुठभेडमा मङ्गोरान्का स्वयं पनि मारिएका छन्। घटनामा उनकी श्रीमती र अन्य तीन महिलासहित समूहका सदस्यहरू संलग्न थिए । झन्डै एक घण्टा चलेको गोलीबारीपछि सुरक्षा बलले स्थिति नियन्त्रणमा लिएको जनाएको छ।

सैन्य स्रोतका अनुसार कारबाहीपछि घटनास्थलबाट एक शिशु जीवित अवस्थामा फेला पारिएको छ। उक्त शिशु कसरी त्यहाँ पुगेको भन्नेबारे थप अनुसन्धान भइरहेको छ। सुरक्षाकर्मीको तर्फबाट भने कुनै हताहत नभएको जनाइएको छ भने घटनास्थलबाट हतियार तथा विस्फोटक सामग्री बरामद गरिएको छ।

फिलिपिन्स सेनाको पहिलो इन्फेन्ट्री डिभिजनले जारी गरेको विवरणमा उक्त समूह यस वर्षको जनवरीमा चार सैनिकको मृत्यु र एक जना घाइते भएको घटनामा संलग्न रहेको आशङ्का गरिएको उल्लेख छ। सैन्य अधिकारीहरूका अनुसार मारिएका लडाकूहरू विगतमा भएका ठूला आक्रमणहरूमा संलग्न सञ्जालकै हिस्सा थिए।

सैन्य कमान्डर मेजर जनरल येगोर बारोकिलोले ती उग्रवादीहरू मारावी सहरमा भएको ऐतिहासिक घेराबन्दी र त्यसपछिका वर्षहरूमा भएका हिंसात्मक गतिविधिसँग सम्बन्धित रहेको बताए । सन् २०१७ को मे महिनामा सयौँ स्थानीय तथा विदेशी लडाकूहरूले मिन्डानाओस्थित मारावी सहर कब्जा गरेका थिए, जसलाई इस्लामिक शासनअन्तर्गत ल्याउने उद्देश्य रहेको बताइएको थियो।

उक्त घटनापछि सरकारी फौजले सञ्चालन गरेको पाँच महिनासम्मको कडा सैन्य कारबाहीमा एक हजारभन्दा बढी मानिसको ज्यान गएको थियो। अन्ततः उग्रवादी समूहका प्रमुख नेताहरू मारिएपछि घेराबन्दी अन्त्य भएको थियो।

हालको घटनाले दक्षिण फिलिपिन्समा उग्रवादी गतिविधि पूर्ण रूपमा अन्त्य नभएको सङ्केत दिएको छ। सुरक्षा निकायहरूले यस्ता समूहहरू अझै सक्रिय रहेकाले निरन्तर निगरानी र कारबाही आवश्यक रहेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *