पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढ्यौँः महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसमा अब विशेष महाधिवेशन बाध्यकारी बनेको बताएका छन्।

मेलमिलाप दिवसको शुभकामना दिँदै महामन्त्री थापाले राष्ट्रप्रति दायित्व निर्वाह गर्न सक्ने कांग्रेस बनाउनु आजको जिम्मेवारी भएको भन्दै विशेष महाधिवेशन पार्टीभित्रको एकता र आत्मविश्वासको लागि अनिवार्य बनेको बताएका हुन् । उनले भनेका छन्, ‘कांग्रेसको विशेष अधिवेशन नै हो । पुस मसान्त भित्र विशेष अधिवेशन गर्ने कार्य विधानतः बाध्यकारीमात्र नभएर पार्टीभित्रको एकता र आत्मविश्वासको लागि अनिवार्य बनेको छ।’

उनले राष्ट्र प्रतिको दायित्व निर्वाह गर्न सक्ने कांग्रेस बनाउनु नै आजको लागि प्रत्येक कांग्रेस कार्यकर्ताको युगिन जिम्मेवारी भएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘अतः हामी यही जिम्मेवारी निर्वाह गर्न पुस मसान्त भित्र विशेष अधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढ्यौँ । सम्पूर्ण साथीहरूलाई दृढतापूर्वक यो मार्गमा हातेमालो गर्दै एकताबद्ध हुन आह्वान गर्दछु ।’

उनले कांग्रेस उत्तरदायित्व बोधका साथमा राष्ट्रिय भूमिका निर्वाह गर्न आत्मविश्वासको विन्दु खोजिरहेको बताएका छन् ।

उनले भनेका छन्, ‘नेपाली कांग्रेसले यही उत्तरदायित्व बोधका साथमा राष्ट्रिय भूमिका निर्वाह गर्न आत्मविश्वासको विन्दु खोजिरहेको छ। यो आत्मविश्वास हाम्रो एकताबाट नै आउँछ। अनि एकता के बाट आउँछ ? निषेधबाट होइन, फरक विचारलाई बेवास्ता गरेर होइन–भिन्न मतहरू व्यक्त गर्ने साझा मञ्चको प्रयोगबाट मात्र त्यो एकताको उद्भव हुन्छ। त्यो भनेको आजको समयमा कांग्रेसको विशेष अधिवेशन नै हो।’

उता मंगलबार केही पत्रकारहरुसँगको कुराकानीमा सभापति शेरबहादुर देउवाले भने विशेष महाधिवेशन हुन नसक्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *