काठमाडौं । दक्षिण अफ्रिकाका चर्चित ब्याट्सम्यान फाफ डु प्लेसिस नेपाल आइपुगेका छन् । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) खेल्न डु प्लेसिस आज दिउँसो नेपाल आइपुगेका हुन् ।
४१ वर्षीय डु प्लेसिसले विराटनगर किंग्सबाट एनपीएल खेल्नेछन् । सन् २०११ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका डुप्लेसिसले ६९ टेस्टमा १० सतक र २१ अर्धसतकसहित ४ हजार एक सय ६३ रन बनाउँदा १ सय ४३ एकदिवसीयमा ५ हजार ५ सय ७ रन बनाएका छन् । त्यसक्रममा उनले १२ सतक र ३५ अर्धसतक प्रहार गरेका छन् । यस्तै टी-२० आईमा उनले ४ सय २४ खेल खेल्दै ८ सतक र ८३ अर्धसतकसहित ११ हजार ९ सय ६ रन बनाएका छन् ।
सन् २०२१ देखि राष्ट्रिय टोलीबाट नखेलेका डुप्लेसिसले विश्वको चर्चित फ्रेन्चाइज लिग भने खेलिरहेका छन् । इन्डियन प्रिमियर लिगमा ४ टोलीबाट खेलिसकेका उनले १ सय ५४ खेलमा ४ हजार ७ सय ७३ रन बनाएका छन् । यस्तै उनले मेजर क्रिकेट लिग, क्यारेबियन प्रिमियर लिग, बिग बास, मेन्स ११, बंगलादेश प्रिमियर लिग जस्ता चर्चित लिग खेलिसकेका छन् ।
डु प्लेसिसको आगमनसँगै विराटनगरको टोली अझ मझबुत देखिएको छ । विराटनगर हाल पाँच खेलबाट ८ अंक जोड्दै अंकतालिकाको तेस्रो स्थानमा रहेको छ ।
