एनपीएलमा आज लुम्बिनी र पोखरा तथा सुदूरपश्चिम र जनकपुर खेल्दै

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज पनि दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित टियु क्रिकेट स्टेडियममा हुने पहिलो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स तथा दोस्रो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स खेल्नेछन् । पहिलो खेल बिहान ११:४५ बजे र दोस्रो खेल दिउँसो ४ बजे शुरु हुनेछ ।

पोखरा र लुम्बिनी आजको खेल जित्दै तालिकाको आफ्नो स्थान सुधार गर्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । लुम्बिनी ४ खेलबाट २ अंक जोड्दै अंकतालिकाको सातौँ स्थानमा रहेको छ भने एक खेल कम खेल्दै दुई अंक जोडेको पोखरा छैटौं स्थानमा रहेको छ । आजको खेल हार्ने टोलीको प्लेअफ पुग्ने सम्भावना कठिन बन्नेछ ।

यस्तै दिउँसो हुने दोस्रो खेलमा जनकपुरले सुदूरपश्चिमको सामना गर्नेछ । जनकपुर आज प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछ भने सुदूरपश्चिम आफ्नो विजयी यात्रालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ । सुदूरपश्चिम हाल ४ खेलबाट ८ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ भने ठीक विपरित जनकपुर तीन खेलबाट अंकविहीन रहँदै पुछारमा रहेको छ ।

सुदूरपश्चिम आजको खेलमा जित निकाल्दै प्लेअफमा आफनो स्थान सुरक्षित गर्न चाहन्छ भने यता जनकपुर आज पराजित भएको खण्डमा प्लेअफ पुग्ने गणितीय सम्भावना मात्र बाँकी रहनेछ ।

यसअघि दुई टोली गत वर्षको फाइनलमा भिडेका थिए । फाइनल खेलमा जनकपुरले बाजी मार्दै उपाधि उचालेको थियो । त्यसैले आज सुदूरपश्चिमलाई उक्त फाइनल खेलको बदला लिने अवसरपनि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *