म्याग्दीको सिङ्गामा बहुउद्देश्यीय कवर्डहल निर्माण

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गामा बहुउद्देश्यीय कवर्डहल निर्माण भएको छ । बेनी नगरपालिकाको सहयोगमा स्थानीयबासीले श्रमदान गरेर खेलकुद, सामाजिक र सांस्कृतिककार्यका लागि कवर्डहल निर्माण गरेका हुन् ।

नगरपालिकाले १० लाख उपलब्ध गराएको कवर्डहल निर्माणका लागि उपभोक्ताहरुले थप तीन लाख ७० हजार बराबरको श्रमदान गरेका निर्माण समितिका अध्यक्ष हरिप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार वडा कार्यालयले अपुग थप दुई लाख रकम भुक्तानीका लागि नगरपालिका कार्यालयमा सिफारिस गरेको छ । पर्याप्त बजेटको ब्यवस्था नहुँदा चार वर्ष लगाएर कवर्डहल निर्माणलाई पूर्णता दिएको अध्यक्ष पौडेलले बताए । राजीखोला किनारमा पक्की तटबन्ध बनेपछि संरक्षण भएको खाली सार्वजनिक जग्गा सम्माएर वरीपरि फलामको फिल्लर ठडाएर जस्तापाटाले बारेर कवर्डहल बनाइएको छ ।

कवर्डहलको शुक्रबार बेनी नगरपालिका–४ का वडा अध्यक्ष अणबहादुर खड्का (भगवान) ले शुभारम्भ गरे । उनले स्थानीयबासीलाई फुर्सदको समय सदुपयोग र शारिरिक कसरतका लागि ब्याडमिन्टन खेल अभ्यास गर्न, प्रतियोगिता आयोजना गर्न, बिवाह, ब्रतबन्ध, भेला, बैठक गर्न सुविधा पुगोस भन्ने उद्देश्यले कवर्डहल बनाएको बताए ।

उक्त वडाको तातोपानीमा पनि कवर्डहल निर्माण भएको र थामडाडा टोलमा कवर्डहल बनाउन लागिएको अध्यक्ष खड्काले बताए । कवर्डहलमा शुक्रबारदेखि सिंगा ब्याडमिन्टन सङ्घको आयोजनामा प्रथम मनप्रसाद, इन्दु स्मृति पुरुष डि–लेभल ब्याडमिन्टन कप प्रतियोगिता सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *