काठमाडौं । फ्रान्स र मोरोक्को फिफा विश्वकप-२०२६ को क्वाटरफाइनलमा पुगेका छन्। आइतबार बिहान भएको अन्तिम १६ को खेलमा पाराग्वेलाई १-० गोलले पराजित गर्दै फ्रान्सले क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
फिलाडेल्फिया स्टेडियममा भएको खेलमा फ्रान्सलाई जित दिलाउन किलियन एम्बाप्पेले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७० औँ मिनेटमा एम्बाप्पेले पेनाल्टीमा गरेको गोलनै फ्रान्सलाई जित दिलाउन पर्याप्त बन्यो । एम्बाप्पेको जारी विश्वकपमा यो सातौँ गोल हो ।
जितसँगै फ्रान्स क्वाटरफाइनलमा पुग्दा पाराग्वे प्रतियोगिताबाट बाहिरिएको छ । अब फ्रान्सले क्वाटरफाइनलमा मोरोक्कोको सामना गर्नेछ ।
गएराति नै भएकै अन्तिम १६ को अर्को खेलमा मोरोक्कोले सह-आयोजक क्यानडालाई ३-० गोलले हराउँदै अन्तिम ८ मा पुगेको हो । हौस्टोन स्टेडियममा भएको खेलमा मोरोक्कोलाई जित दिलाउन अज्जेदिने ओउनाही दुई र सोउफिआने रहिमीले एक गोल गरे ।
