काठमाडौं । साफ क्लब महिला च्याम्पियनसिप-२०२५ को खेलतालिका सार्वजनिक भएको छ । दक्षिण एसियाली फूटबल महासंघ(साफ)ले सार्वजनिक गरेको खेलतालिका अनुसार पहिलो खेलमा पाकिस्तानको काराची सिटी फूटबल क्लब र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज फूटबल क्लब भिड्नेछन् ।
प्रतियोगिता ५ डिसेम्बर देखि २० डिसेम्बरसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । प्रतियोगितामा पाँच राष्ट्रका टोलीले सहभागिता जनाउनेछन् । भुटानबाट ट्रान्सपोर्ट, पाकिस्तानबाट काराची, भारतबाट इस्ट बङ्गाल फूटबल क्लब, बंगलादेशबाट नास्रिन स्पोर्ट्स एकेडेमी र नेपालबाट नेपाल एपीएफ क्लबले दाबेदारी प्रस्तुत गर्नेछन् ।
नेपालको एपीएफले पहिलो खेल ५ डिसेम्बरमा नास्रिन स्पोर्ट्स, दोस्रो खेल ११ डिसेम्बरमा ट्रान्सपोर्ट युनाइटेड, तेस्रो खेल १४ डिसेम्बरमा काराची सिटी र चौथो खेल १७ डिसेम्बरमा इस्ट बङ्गाल एफसीसँग खेल्नेछ । सिंगल राउण्ड रोबिन आधारमा हुने प्रतियोगिताको शीर्ष दुई स्थानमा रहने टोलीले २० डिसेम्बरमा उपाधिको लागि खेल्नेछन् ।

