एजेन्सी । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस लिग ला लिगामा पहिलो हार बेहोरेको छ । आइतबार राति भएको खेलमा सेभिल्लासँग ४-१ गोलले पराजित भएसँगै बार्सिलोनाले लिगको शीर्ष स्थानमा उक्लिने मौका गुमाएको हो ।
इस्टाडियो रामोन सान्चेजमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन एलेक्सिस सान्चेज, इसाक रोमेरो,जोसे एन्जल कर्मोना र अकोर एडम्सले समान एक/एक गोल गरे । खेलको १३ औँ मिनेटममा सान्चेजले पेनाल्टीमा गोल गर्दै सेभिल्लालाई शुरूवाती अग्रता दिलाएका थिए । ३६ औँ मिनेटमा रोमेरोले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए ।
पहिलो हाफको इन्जुरी समयमा रासफोर्डले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने प्रयास गरेका थिए । ७६ औँ मिनेटमा रोबर्ट लेवान्डोस्की पेनाल्टीमा चुक्दा बार्सिलोनाले खेलमा बराबरी गर्ने मौका गुमाएको थियो ।
निर्धारित ९० औँ मिनेटमा कार्मोनाले गोल गर्दै सेभिल्लालाई जित नजिक पुर्याएका थिए । यस्तै इन्जुरी समयको छैटौं मिनेटमा एडम्सले गोल गर्दै सेभिल्लालाई ४-१ गोलको जित दिलाएका हुन् ।
जितसँगै सेभिल्ला ८ खेलबाट १३ अंक जोड्दै तालिकाको छैटौं स्थानमा उक्लिएको छ भने समान खेलबाट १९ अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा यथावत छ ।
