नयाँ स्वरूपमा ‘माइतीघर’

काठमाडौँ । मुलुकभित्र निजी क्षेत्रको लगानीमा बनेको पहिलो चलचित्र ‘माइतीघर’ मा समावेश शीर्ष गीत ‘प्राणभन्दा प्यारो माइतीघर’ अहिलेको पुस्तामा पनि लोकप्रिय छ । आशा भोस्लेले स्वर दिनुभएको उक्त गीतलाई नयाँ स्वरूपमा तयार गरिएको छ ।

नाम उही, गीत उही ‘माइतीघर’ राखिए पनि नयाँ परिवेशमा पुरानो मर्म रहनेगरी तयार गरिएको निर्माता रोहित अधिकारीले जानकारी दिए । उनले निर्माण गरेको ‘माइतीघर’ चलचित्रमा पुरानै गीतलाई नयाँ स्वरूपमा तयार गरेका हुन् ।

गीतमा सञ्जिवनीले स्वर दिएको जनाउँदै अधिकारीले स्वर्गीय जयदेवले सिर्जना गरेको  सङ्गीत र किरण खरेलले रचना गरेको शब्दअनुसार नयाँ स्वरूपमा तयार गरिएको बताए । उनका अनुसार पुरानो गीतलाई स्वरमात्र नयाँ दिएर तयार गरिएको हो ।

उनले भने, “पुरानो नाममै चलचित्र निर्माण गर्ने निर्णय गरेपछि कालजयी उक्त गीतलाई नयाँ स्वरूपमा ल्याउने तयारी गरेर अहिले सार्वजानिक गरेका छौँ । पुरानो गीतको मर्मलाई कायम राख्दै नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले चलचित्रमा समावेश गरेका हौँ । गीतले चलचित्रको कथालाई अगाडि बढाउँछ ।”

निर्माता अधिकारीले उक्त गीतमा श्रव्यदृश्य (भिडिओ) बनाउनेमध्येबाट उत्कृष्टलाई पाँच लाख पुरस्कार राशि प्रदान गरिने जानकारी दिए । यसका लागि प्रतियोगिता घोषणा गरिएको उनले बताए ।

“गीतको श्रव्यदृश्यमा राम्रो नृत्य गरेर हामीलाई पठाउनेमध्ये एक जनाले चलचित्र सार्वजनिक रूपमा प्रदर्शन हुनु अगाडि प्रतियोगिताको विजेता घोषणा गरी पुरस्कार पाउनेछन् । प्रतियोगितामा सहभागी हुन ४० सेकेण्डदेखि २ मिनेटसम्मको श्रव्यदृश्य तयार गरेर हामीलाई पठाउनुपर्नेछ । यसले गीतलाई नयाँ पुस्तामा पुर्याउनुका साथै चलचित्रको प्रचारप्रसारमा मद्दत गर्नेछ”, निर्माता अधिकारीले भने ।

उक्त गीतमा अभिनेत्रीद्वय उपासना सिंह ठकुरी र श्याम श्री शेर्पाले अभिनय गर्नुभएको छ । गीतको श्रव्यदृश्यमा कविराज गहतराजले नृत्य निर्देशन, मानकृष्ण महर्जन र सुशन प्रजापतिले संयुक्त रूपमा छायाङ्कन र सुरेन्द्र पौडेलले सम्पादन गरेका छन् ।

मिलन तामाङको निर्देशनमा तयार भएको उक्त चलचित्रमा केदारप्रसाद घिमिरे, धीरज मगर, प्रकाश सपुत, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, सङ्गीता थापालगायत कलाकारले अभिनय गरेका छन् । चलचित्र दसैँको अवसर पारेर फूलपाती (असोज १३ गते)देखि प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *