काठमाडौं । गत वर्ष मकवानपुरमा पहिरोमा परी ज्यान गुमाएका ६ खेलाडीको सम्झनामा यु-१४ छात्र/छात्रा अन्तर विद्यालय फूटबल प्रतियोगिता हुने भएको छ । अखिल नेपाल फूटबल संघ(एन्फा) र परिवारमाबीच एन्फा कम्प्लेक्समा आज भएको छलफलबाट उनीहरुको सम्झनामा फूटबल प्रतियोगिता गर्ने निर्णय भएको हो ।
गत वर्ष असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको पहिरोमा परि श्री वत्सलादेवी माध्यमिक विद्यालय इन्द्रसरोवर-३ सिस्नेरी मकवानपुर स्थित एन्फा एकेडेमीमा रहेका खेलाडीहरु अनुपम घलान, आदित्य बलम्पाकी, विकल रेग्मी, दिवस बाँनिया, प्रियान्स आर्चाय र साईमन योञ्जनको मृत्यु भएको थियो ।
एन्फाको अनुसार स्वर्गीय खेलाडीहरूको स्मृतिमा एन्फा यू–१४ छात्र/छात्रा अन्तर–विद्यालय फुटबल प्रतियोगिता २०८२ सञ्चालन गर्ने निर्णय भएको हो । यसअनुसार, सम्बन्धित परिवारजनलाई सम्बन्धित जिल्लामा जिल्ला फुटबल संघमार्फत र केन्द्रमा केन्द्रीय स्तरमा सहभागी गराई प्रतियोगिता सञ्चालन गर्ने सहमति गरिएको छ ।
यस्तै उनीहरुको पुण्यतिथि असोज १२ गतेको दिनमा संघले वार्षिक रूपमा परिवारजनको सहभागिता सहित श्रद्धाञ्जली सभा आयोजना गर्ने आजको बैठकबाट भएको छ ।
