प्रधानमन्त्रीलाई कालो चस्मा खोल्न कांग्रेसको सुझाव

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन साहलाई कालो चस्मा खोल्न आग्रह गरेको छ । शुक्रबारको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसकी सांसद बासना थापाले प्रधानमन्त्री आत्मदाहको प्रयास गरेका गणेश नेपालीको ज्यान बचाउनुको साटो मुकदर्शक बनेको भन्दै आपत्ति जनाएकी हुन् ।

उनले भनिन्, ‘प्रधानमन्त्रीज्यू, राज्य साँच्चै यति निरीह र असफल भइसकेको हो ? अब कालोचस्मा खोल्ने बेला आएको छ । साझा यातायातको हरियो रङलाई पोतेर नागरिकको सुरक्षा महसुस गरिँदैन ।’

उनले गणेश नेपालीले शरीरमा आगो सल्काउँदा राज्यले एम्बुलेन्स समेत नपठाएको आरोप लगाइन् । उनले भनिन्, ‘राज्य आतंकका कारण एक युवाले आगो सल्काउँदा समेत राज्य मूकदर्शक बन्यो । शरीर आगोमा दन्किरहेको छ, राज्यले एम्बुलेन्स पठाएन । बरु प्रहरी प्रशासन लगाएर अपराधिकझैं घिसारेर लग्यो । यो उद्धार हो कि गिरफ्तारी हो सरकार ? ऊ देशद्रोही हो ? उसले कसको विरुद्ध के अपराध गरेको थियो ? उसको गल्ती यही हो कि यो देशमा जन्मियो कि यही देशमा केही गर्न खोज्यो ।’

उनले वर्तमान सरकार जनताको ज्यान जोगाउने भन्दा पनि मानवीय संवेदनशीलतालाई कुल्चिएर सञ्जालमा लाइक बढाउने ध्यानमा रहेको आरोप लगाइन् ।

उनले भनिन्, ‘अरूले आफैंलाई जलाउने हिम्मत गर्न सकेको छैनन् । बहादुर युवाले विद्रोह गर्यो । सरकार जनताको ज्यान जोगाउने भन्दा पनि मानवीय संवेदनशीलतालाई कुल्चिएर लाइक बढाउने ध्याउन्नमा छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *