गाईजात्रालाई लक्षित गर्दै जोगिन्दरको ‘मिसन नौटङ्की’

काठमाडौँ । हास्यव्यङ्ग्यको पर्व ‘गाईजात्रा’लाई लक्षित गर्दै हरेक वर्ष विभिन्न व्यङ्ग्यात्मक सामग्री भित्रिने गर्दछन् । यस वर्ष कलाकार शिवशङ्कर रिजाल ‘जोगिन्दर’ले आगामी ‘गाईजात्रा’लाई लक्षित गर्दै गाईजात्रे कोसेली ‘मिसन नौटङ्की’ सार्वजनिक गरेका छन् ।

दर्शक तथा श्रोतालाई हास्यव्यङ्ग्यको माध्यमबाट मनोरञ्जन दिने र विकृतिमाथि प्रहार गर्दै चेतना प्रवाह गर्ने उद्देश्यले गाईजात्रालाई लक्षित गरी कोसेली ल्याइएको कलाकार रिजालले बताए ।

‘अहिले यस्ता कोसेलीको व्यवसायिकता छैन, तर यस्ता प्रस्तुति ल्याउनु हामी हास्य कलाकारको धर्म हो । सोही कारण मैले सुरुआती दिनदेखि निरन्तर गाईजात्रालाई लक्षित गर्दै व्यङ्ग्यात्मक कोसेली ल्याउने गरेको छु । बर्सेनि दर्शकश्रोता मेरो कोसेलीको पर्खाइमा बस्नुहुन्छ भन्ने मलाई लाग्छ’, उनले भने ।

विसं २०६१ देखि हरेक वर्ष निरन्तर रूपमा गाईजात्रालाई लक्षित गर्दै प्रस्तुति ल्याइरहेका कलाकार रिजालले ‘मिसन नौटङ्की’ अहिलेको राजनीतिक घटनाक्रम, सामाजिक विकृतिदेखि फेसन र ग्ल्यामरसम्मलाई व्यङ्ग्य गरिएको बताए ।

‘अहिले नेताहरूले आगामी निर्वाचन अर्थात् मिसन-८४ भन्दै प्रचार गरिरहेका छन् । अहिले काम गर्न ध्यान नदिएर नयाँ आशा बाड्ने नेतालाई लक्षित गर्दै केही हास्य प्रस्तुति तयार गरेको छु । यसको उद्देश्य कसैलाई चोट पुर्याउनु नभएर जनतालाई बाँडिएको झुटो आश्वासनलाई व्यङ्ग्य गर्नु हो’, उनले भने ।

उनले चलचित्र ‘जात्रै जात्रा’ मा समावेश गीत ‘लाइदेउ माया पिरिम’ को ‘प्यारोडी’ तयार गरिएको जानकारी दिए । कलाकार रिजालले लेखन, निर्देशन गरेको गाईजात्रा कोसेली ‘मिसन नौटङ्की’ मा राधिका हमाल, प्रेम शर्मा पौडेल, सवित्रा लामिछाने ‘सबु’, धीरेन्द्र सिंह, किरण खनाल, बेदमणि अधिकारी, बलराम धमला ‘ठुले दाइ’, सबिना विक, भीम परियार र बालकलाकार पोस्ना श्रेष्ठले अभिनय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *