पोखरा र भैरहवामा किन विदेशी एयरलाइन्सले नियमित उडान गर्न मान्दैनन् ?

-सुगतरत्न कंशाकार ।

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तत्काल अन्तर्राष्ट्रिय उडान शुरु गर्न दबाब दिन चेम्बर अफ कमर्स रुपन्देहीले विरोध प्रदर्शन गरेको हालसालै एक समाचार आएको छ । यो समाचारले म नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष हुँदा सन् २००९/१० तिरको एक सानो घटना सम्झन पुगेँ । त्यसताका नेपाल ICAO  safety list (black list) मा परेको थिएन । युरोपमा सिधा उडान र अन्य क्षेत्रमा निगमको संजाल विस्तार गर्ने हेतुले दुईवटा वाइडबडी र चारवटा न्यारोबडी विमान खरिद गर्न ग्लोबल टेण्डर आह्वान गरेको थियो । सकेसम्म पर्यटन वर्ष २०११ भित्र नै युरोप सिधा उडान गर्न पहिलो डेलिभरीमा एक वाइडबडी र एक न्यारोबडी प्राप्त गर्ने योजना थियो ।

निगमको यो योजना थाहा पाए पछि द्यचगककभकि ब्ष्चउयचत को एक पदाधिकारी मलाई भेट्न काठमाडौंसम्म आएका थिए । उनले लण्डन, फ्रान्कफर्टको सत्तामा ब्रसेल्स एयरपोर्टमा सिधा उडान गर्न आग्रह गरेको र विभिन्न शुल्कमा छुट दिन सकिने भनि मलाई फकाएको थियो । तर, हामी निगम व्यवस्थापनले सकेसम्म लण्डन नै सिधा उडान गर्ने चाहेको थियो । किनकी बेलायतमा धेरै नेपाली मूलका मानिसहरु बसोबास गरिरहेका छन् र पर्यटनको कोणबाट विचार गर्दा पनि लण्डन उडान गर्दा पर्याप्त मात्रामा यात्रु हुने हुँदा लण्डन उडान नै लाभदायक हुने निष्कर्षमा पुगेको थियो ।

भैरहवा र पोखरा विमानस्थलमा कुनै पनि विदेशी एयरलाइन्सले उडान गर्न नमान्ने प्रमुख कारण नै पर्याप्त मात्रामा यात्रु नहुनाले हो । सरकार र नागरिक उड्डयन प्राधिकरणले पर्याप्त मात्रामा यात्रु नभएपनि, घाटा भएपनि उडान गर्नैपर्छ भनेर विदेशी वा स्वदेशी एयरलाइन्सलाई जबरजस्ती उडान गराउन पक्का पनि व्यवहारिक हुँदैन । तसर्थ, एक मात्र उपाय भनेको नेपाल सरकार आफैं मालिक भएको नेपाल वायुसेवा निगमले उपयुक्त मोडेलको दुईवटा न्यारोबडी विमान खरिद गरेर भारतका थप शहरहरु, चीनका थप शहरहरु, र बौद्धमार्गी मुलुकहरु श्रीलंका, म्यानमार, भियतनाम, क्याम्बोडिया, लाओसमा भैरहवा र पोखराबाट सिधा उडान शुरु गर्ने हो । शुरु शुरुमा घाटा सहेर यी रुटहरुमा नियमित उडान गर्यो भने निकट भविष्यमा निगमले नाफा कमाउने निश्चित छ । साथै पोखरालाई ‘हनिमून शहर’ वा ‘एशिया कै एक अतिसुन्दर रमणीय शहर’ भनेर र लुम्बिनीलाई ‘बुद्ध जन्मेको पवित्र शहर’ भनेर विश्वव्यापी रुपमा प्रचार प्रसार गर्ने जिम्मा पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्डले लिनुपर्ने हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *