को जिम्मेवार छ काठमाडौंका ‘खोला बहुलाउनु’ मा ?

डा. युवराज संग्रौला ।
गफ लाउनु र विद्वता धेरै नझाँट्नुनै राम्रो हुन्छ ।

१. काठमाडौंमा आजको अवस्थाको कारण हो, ‘काठमाडौं केन्द्रित विकास हो (डा. हर्क गुरुङ्ग)।’ यसका कारण हुन् ‘महेन्द्र पछाडिको दरबार, दरबारभित्रको अनुदार शक्ति (डा. भेषबहादुर थापा) र नेपालको शासनमा दिमागमा छिरेका जुका जस्ता मान्छे (सीमित संभ्रान्त परिवार) र देशभक्त विज्ञहरुलाई दुत्कार्ने र विदेशिन बाध्य गर्ने वर्तमान कांग्रेस/कम्युनिष्ट नेता एवम् “नेपाली जनताको करबाट पेन्सन र बृद्धभत्ता खाने, ग्रीन कार्ड गोजीमा राखेर सन्तान जति विदेश पठाउने क्षयरोगका जीवाणु जस्ता १/२००० ठूला पदमा पुगेका कर्मचारी र तमासा बेचेर नेता बन्न चाहने विकल्प ।

२. यिनका काठमाडौं केन्द्रित विकासले सबै मानिसलाई काठमाडौं तान्यो । काठमाडौं कंक्रिटको जंगल बन्यो । खोला मिचेर घर बने । घर लडाएर बाटा ठूला बने । जो मेयर हुन्छ, उसको सपना लडाउने हुन्छ । बनाउने हुँदैन । कमाउने माध्यम सजिलो छ। काठमाडौमा एक पछि अर्को मेयर आए र मेयर भन्दा सेलीब्रेटी भए ।

३. काठमाडौंमा बीस हजार सार्वजनिक सवारी र वरीपरी मेट्रो रेल हालेर मानिसलाई भनेको बेला सवारी पाउने व्यवस्था हुँदो हो त ‘ऋृण लिएर गाडी र मोटरसाइकल किन्नुपर्ने थिएन । काठमाडौं प्रदूषित हुने थिएन र काठमाडौं साँधुरो हुने थिएन।’ बाटा चौडा गर्ने नाममा मानिसका घर लडाउनु पर्ने थिएन ।

४. काठमाडौं बाहिर आधुनिक शहर बनाइदिएको भए, सुविधा पुर्याइदिएको भए, विश्वविद्यालय, स्कुलहरु, अस्पताल, चुस्त प्रशासनिक केन्द्र, अस्पताल र उद्योगहरु पुर्याइदिएको भए, १० लाख मान्छे नअट्ने काठमाडौंले ४० लाख धान्नु पर्ने थिएन । खोलामा घर बनाउनु पर्ने थिएन । मानिस आफ्नो ठाउँमा बसेर छोराछोरी पढाउने र व्यवसाय गर्ने थिए । खोलामा घर बनाउन बाध्य हुने थिएनन् ।

तर सामाजिक संजालमा मानिस ‘खोलाले न्याय खोजेको, प्रकृतिले न्याय गरेको, अनेक भ्रामक संकथन निर्माण गरिरहेका छन् । जबसम्म काठमाडौंलाई मात्र नेपाल बनाउनुहुन्छ, खोला मिचिन छोड्दैन । काठमाडौंलाई केन्द्र बनाउने जंगली पुुँजीवाद छ, जसले उर्वर जमिनलाई प्लटिङ्ग गरेर, डोजर चलाएर माटोको भेल चलाइ खोलाको भुइँला सिल्टिङ गरिरहेका छ र खोला उकासीरहेका छन् । खोला किनारलाई भूमाफिया र भ्रष्ट कर्मचारीले नेताका आडमा दर्ताको जग्गा बनाएका छन्, नगरपालिका भ्रष्ट इन्जिनियर र नेताले नक्सा पास गरिदिएका छन् । जनताले मात्र मासेको हो खोला ? किन पर्खाल लगाएर खोला टाँसेर बाटो बनाएको त नगरपालिकाले ? त्यसो गर्नु खोला मिच्नु होइन ?

५. काठमाडौंको जनसंख्या बढाएर मेलम्चीको औचित्य पुष्टि गर्ने देशभित्र र बाहिरका वित्त माफियाहरु, जग्गाको मूल्य बढाएर घन कमाउने भूमाफियाहरु, स्वार्थी नेताहरू, आधुनिकता र भुमन्डलीकरणका नाममा संस्कृतिलाई पश्चिमी नवउपनिवेशिकरण गर्ने स्युडोहरु आजको काठमाडौंका त्रासदीका कारक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *