काठमाडौं । नेपालले एसीसी प्रिमियर कप-२०२६ को उपाधि जितेको छ । शनिबार दिउँसो भएको फाइनल खेलमा चिरप्रतिद्वन्द्वी युएईलाई ४५ रनले पराजित गर्दै नेपालले दोस्रो पटक प्रिमियर कपको उपाधि जितेको हो । उपाधिसँगै नेपाल आगामी वर्ष बंगलादेशमा हुने एसीसी एसिया कपमा छनोट भएको छ ।
जितको लागि ३ सय १४ रनको विजयी लक्ष्य पछ्याएको युएई ४९.२ ओभरमा अलआउट हुँदै २ सय ६८ रनमा समेटिएको हो । युएईको लागि राहुल चोप्राले सतक बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् । उनले १ सय ५ बलमा ४ छक्का र तीन चौकाको मद्दतमा १ सय रन बनाए । यस्तै सोहीब खानले ५७ बलमा ४ चौका र २ छक्काको मद्दतमा ५२ रन बनाउँदा रानिश सुरीले ४२, कप्तान हर्प्रित सिंहले ३३ र खुजैमा तान्भिरले १५ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
नेपालको लागि करण केसीले ९ ओरमा ४९ रन दिएर तीन विकेट लिँदा ललित राजवंशीले दुई विकेट लिए । सन्दीप लामिछाने, दीपेन्द्र सिंह एरी, बासिर अहमद, रोहित पौडेल र गुलसन झाको नाममा एक/एक विकेट रह्यो ।
यसअघि क्वालालम्पुरस्थित बायुमास ओभलमा भएको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय १३ रन बनाएको थियो । नेपालको लागि आसिफ शेखले सतक र गुलसन झाले अर्धसतक पूरा गरे । उनले १ सय ६ बल खेल्दै ८ चौका र ४ छक्काको मद्दतमा १ सय २ रन बनाए । यस्तै गुलसन ३८ बलमा ४ छक्का र ३ चौकाको मद्दतमा ५२ रन बनाउँदा अर्जुन कुमालले ४३, रोहित पौडेलले ४०, दीपेन्द्र सिंह एरीले १८, बासिर अहमदले १५ र इशान पाण्डेले १३ रन बनाए ।
युएईको लागि इब्रार अहमदले ८ ओभर मा ६२ रन बनाउँदै ४ विकेट लिए । यस्तै खुजाइमा तान्भिरले दुई तथा हाइडेर अली र अदेब उस्मानीले समान एक/एक विकेट थिए ।
