लियो टोलस्टोयको हास्यचेत

जीवा लामिछाने
इभान नाझिभिनको ‘टोलस्टोयको आत्मा'(Душа Толстого) भन्ने एक पुस्तक छ । त्यस पुस्तकमा नाझिभिनले टोलस्टोयको विनम्रता र हास्यचेतलाई यसरी उल्लेख गरेका छन् । एकदिन लियो टोलस्टोय आफ्नै प्रान्त अन्तर्गतको तुला ट्रेन स्टेशनमा प्लेटफर्म नजिक उभिइरहेका थिए । तुला त्यही प्रान्त हो जहाँ उनको विशाल मौजा यास्नाया पोल्याना रहेको छ । टोलस्टोय उभिएको ठाउँ नजिक मालगाडी ट्रेन छोटो समयका लागि रोकियो । त्यति नै बेला एक सज्जन ट्रेनबाट बाहिर निस्किए र सरासर चमेना घरतर्फ लागे । केहीबेरपछि एक महिला पनि ट्रेनबाट हतार गर्दै बाहिर निस्किइन र ती सज्जनलाई बोलाउन थालिन्, ‘जर्ज ! जर्ज भन्दै !’ तर क्याफे जान हतार गरेका जर्जले उनको बोलाएको सुनेनन् ।
महिला टोलस्टोय नजिक पुगेर भनिछन्– ‘बुढा बा ती सज्जनलाई बोलाएर मेरो सामु ल्याईदिन सक्नु हुन्छ, बरु म तपाईंलाई चिया खाजाका लागि केही पैसा दिउँला ?’

टोलस्टोयलाई पनि उनको कुरा रमाइलो लागेछ– उनले जर्जलाई बोलाएर महिला सामु ल्याए । जब माहिलाले आफूले कबोल गरे बमोजिम थोरै पैसा उनलाई दिइन्, वरपर रहेका मानिसहरु अचम्म मान्दै कानेखुसी गर्न थाले– ‘हेर हेर ती बृद्ध व्यक्ति त टोलस्टोय पो हुन् !’

महिलालाई अचम्म लागेर यताउति हेर्दै ‘खै कहाँ खै कहाँ’ भन्न थालिछन् । जब उनलाई ती बृद्ध व्यक्ति अरु कोही नभएर टोलस्टोय हुन् भन्ने थाहा भयो, उनी लज्जित हुँदै टोलस्टोय सामु पुगेर भन्न थालिन्, ‘काउन्ट टोलस्टोय मैले तपाईंलाई चिन्न सकिन, म निक्कै लज्जित छु, मलाई माफ गरिदिनु होला । त्यो पैसा फिर्ता गरिदिनु हुन म विनम्र अनुरोध गर्दछु !’
टोलस्टोयले हाँस्दै उनलाई जवाफ दिए, ‘होइन, म यो पैसा तपाईंलाई फिर्ता दिन्न… किनकी मैले मेहनत गरेर जीवनभरि कमाएको सायद यही पैसा मात्रै होला ।’ प्रस्थानका लागि रेलको सिठी बज्यो– महिला भारी मनसहित रेलको डब्बातर्फ लम्किइन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *