हाम्रो गन्तव्य के हो ?

डा. युवराज संग्रौला ।
हरेक राज्यको एउटा अन्तरनिहीत परिदृष्य बनेको हुन्छ र त्यो परिदृष्य अनेक तत्वहरुको ‘थुप्रो’ को रुपमा रहन्छ । यो ‘थुप्रोलाई’ समाज मान्ने हो भने, नेपाली समाजलाइ ‘गतिहीन वा अड्किएर बसेको’ समाज भन्न सकिन्छ। यो गतिहीन समाजलाई ‘उर्जाशील र गतिवान समाज बनाउन’ २००७ सालमा राणा शासन फ्याँकेर प्रजातन्त्रको स्थापना गरिएको थियो, र २०४६ सालमा यसको पुनर्स्थापना गरिएको थियो । तर यस व्यवस्थाका चालक (दलहरू) नेपाली समाजलाई गतिदिन असफल भए । यो असफलताको विश्लेषण गर्दा ‘बहुआयामिक पद्धतिको अनुसरण गर्नुपर्छ।’

१. ‘पहिला एउटा उपमाद्वारा शु्रु गरौं । एउटा जंगलमा ब्वाँसाहरुबाट राज्य संचालन हुन्थ्यो, तर शासनको जिम्मेवारी बदलेर सहाकारी जन्तुमा सारियो । तर साकाहारीनै विस्तारै मांसाहारीमा परिणत भए।’ तब जन्तुहरु प्रश्न गर्न थाले “यदि मांसाहारीले नै शासन गर्ने हो भने, खोई त परिवर्तन ? जनताको यो कुरा सुनेपछि ब्वाँसाहरु सिंहलाई भन्ने थाले, उनीहरु पनि मांसाहारी भएपछि राज्य तपाईंले नै किन नगर्ने ? अर्थात ‘अचेत पशुहरु परिवर्तन होइन स्थायीतत्वका पक्षधर हुन्छन् । उनीहरु परिवर्तन चाहँदैनन् । गाईगोरु, भैंसी घोडा आदि नयाँगोठमा बाँधे पनि दाम्लो चुँडाएर पुरानै गोठमा जान्छन् ।

२. नेपाली समाज प्रगतिशीलताको बिरोधमा सक्रिय छ । गलत शिक्षाले मान्छेका दिमागमा गलत वा त्रुटिव्याप्त संकथनहरु टम्म भरेको छ । त्यसैले मान्छे परिवर्तन पछाडि पुनः प्रतिगमनको चाहनाबाट प्रेरित हुन थाल्छन् । जब प्रगतिशीलतालाई पुरातनताको लठाराले अड्काउँछ, मान्छेमा ‘देवता, दैव, शक्तिशाली, अहंकारी, मालिक र एकल–प्रमुख बन्ने आंकाक्षा जाग्छ र तपस्या र कर्म पनि त्यही आकांक्षाबाट निर्देशित हुन्छ।“ प्रगतिशीलता र सिर्जनात्मकताका विरुद्ध दुईटा कारणहरुले परणामको निर्माण गर्न थाल्छन् । (१) जनताको परिवर्तन प्रतिको सुषुप्त भय र (२) नेताको देवता वा मालिक बन्ने आंकाक्षा । यस्तो अवास्थामा समाज ‘चिन्तन बिनाको चिन्ता’ द्वारा ग्रस्त हुन्छ। राजनीतिबाट बिचार, सोच, र नैतिकताको पतन हुन्छ। समाज अफवाहबाट निर्देशित हुन्छ र त्यो अवस्था बदल्न ‘बिचारविहीन भीड अगाडि आउँछ।’ फ्रेन्च रिभोलुसन यसको उदाहरण हो । अहिले बांङ्लादेशले यही देखाएको छ। मुजीवरको सालिक फुटाएर त्यो पाकिस्तानी तानाशाही तर्फ फर्किएको छ। पश्चिमी धर्मपुत्रलाई “देवतामा परिणत गर्न आतुर छ। तानाशाहीको बिरोध सत्तापरिवर्तनमा परिणत भएको छ।

३. यस्तो बिचारविहीन समाजमा ‘लोभको हवस्, मोजमस्तिको हवस्, मालिकत्वको हवस्, कन्जम्सन (मदान्द)को हवस्, सत्ताको हवस्, पदको हवस्, धननामको हवस्, र अफवाहको हवस्ले मानिस ग्रस्त हुन्छ । यस्ता हवस्ले (१) राष्ट्रिय मनोविज्ञान (यो राष्ट्र मेरो पहिचानको श्रोत हो भन्ने भावना) (२) देशभक्ति (देशको इतिहास र गौरवप्रतिको आस्था) (३) उत्पादकत्व (उत्पादनको अधिक क्षमता जो सीपमा आधारित हुन्छ),(४) समाजिक एकता, र (५) सामाजिकत्वलाई जलाएर राख बनाउँछ ।

४. यस्तो समाजमा मानिसमा अहंकारको दम्भ भरिन्छ । मानिस व्यक्तिवादी हुन्छ। ‘उपभोग र मदान्द (हेडोनिजम वा मादक आनन्द) उसको जीवनको एकलौटी सोच र चिन्ता बन्छ । यस्तो समाज विश्रृंखल र पथभ्रष्ट हुन्छ। यस्तो समाजमा आजभोलि नेपालमा जस्तै ‘बालबालिकालाई पनि उपभोक्तावादको नसा दिमागमा भरिन्छ । उसलाई असल मान्छे बन्न होइन बिलासी र ठूलो मान्छे बन्न सिकाइन्छ।’

५. यस्तो समाजमा चार किसिमका स्वार्थी मानिसहरु देखिन्छन् । (१) अल्प बुद्धिले जन्माएको दुष्ट बुद्धिबाहक मान्छे –जसलाई नेपालमा पंचायतकालमा मन्डले र अहिले झोले तथा अन्धभक्त भनिन्छ)। यि एक किसिमका दास हुन्छन् । यिनमा मदान्दको हवस् किलकिलेसम्म भरिएको हुन्छ । (२) स्वर्गको हवस्ग्रस्त यतार्थबाट टाढा भागेका धर्मान्दहरु र धर्मलाइ उपभोक्तावादमा बदलेर धनार्जन गर्ने ‘महाराज र देवी’ बनेका भेडाका छाला भिरेका फ्याउराहरु । यिनका दिमागमा धनको हवस् हुन्छ तर यिनका हातमा रिलिजन (धर्म होइन) हुन्छ । (३) स्वार्थका लागि समाजसेवी भएको स्वांङ्ग गर्नेहरु, जो समाजसेवाका नाममा एयरपोर्टमा बास बस्छन् र होटलमा सेमिनारको भोजन गरि, विदेशी मालिकको सेवा गर्छन् । (४) बौद्धिकताका नाममा ‘क्रियाशिल कामचोरहरु।’

. यिनलाई चिन्ता हुन्छ, तर यी चिन्तन गर्दैनन् । यी चारै थरी उपभोक्तावादी पुँजीवादका गुमस्ता बनेका हुन्छन् । यिनले समाजको परिवर्तनलाई लत्याउँछन् र सत्ताको परिवर्तनलाई आफ्नो आंकाक्षाको लागि विद्रोहको बिगुल फुक्छन् । नेपालको समस्याको थुप्रोका यी चारथरी कारक हुन् । अतः केवल राजनीति सत्ताको परिवर्तनले मात्र नेपालको वर्तमान समस्याको निदान गर्न सक्दैन । तीनवटा कारणहरुको सम्बोधन गर्नुपर्छ।

-नेपाल उत्पतिदेखि आजसम्म अविरल अस्तित्वशिल स्वाधिन देश हो । तर १८१६ पछि नेपालले आफ्नो “स्वनिर्णयको प्रयोग गर्न अवरोधको सामना गर्दै आएको छ। नेपाली जनता आफ्नो स्वनिर्णको लागि लडिरहेका छन्, तर उनीहरु विदेशीको निरन्तर हस्तक्षेप र प्रभुत्वको सामना गरिरहेका छन् । हस्तक्षेपका गोटी बनेका छन्, थुप्रै नेता, थुप्रै कर्मचारी, थुप्रै कथित दहीचिउरे विद्वान र अन्धभक्त युवा । यो समस्याको समाधान बिना नेपालको विकास संभव छैन ।

– नेपालको समग्र वित्ततन्त्र केही वित्तपुँजीवादी राष्ट्रिय स्वार्थ विरोधी व्यापारीको हातमा छ र वर्तमान भोटतन्त्र यिनै व्यापारीको सेवा गर्छ। बैंक, बीमा, पुनर्बिमा, आयात निर्यात, निर्माण, शिक्षा र स्वास्थ सेवा यिनका हातमा छ। देशको वित्तिय व्यवस्थालाई सार्वजनिक अर्थतन्त्रको मातहतमा नल्याई देशको विकास संभव छैन ।

– कथित धर्मका नाममा देशमा ‘पुरोहितवादले’ समाजको संरचनालाई वैदिक र बुद्ध दर्शनले निर्माण गरेको विज्ञान, बोधज्ञान, र तर्कशास्त्रका विरुद्ध ‘धर्मका नाममा सामाजिक वरियता’ मा आधारित बनाएको छ। पुरुष तल महिला, बाहुन तल जैसी, जैसी तल क्षेत्री, क्षेत्री तल सिल्पीको वरियता समाप्त नगरी सामाजिक समता निर्माण गर्न सकिन्न।
अतः वर्तमान समाजको परिवर्तनका लागि ‘राष्ट्रिय भरोसा को निर्माण गर्नका लागि स्वाधीन मनोविज्ञान पुनरुत्थान , व्यक्तिमा होइन धनमाथी कर लगाउने प्रणाली , नवउदारवाद होइन समाजवादी समतावादमाथि भरोषा, र वरियताहीन ‘योग्यता र सक्षमतामा आधारित सामाजिक संरचनाको निर्माण गर्ने सोच र रणनीतिले मात्र नेपालको विकास संभव छ। अतः सामाजिक नागरिकतन्त्रका लागि बिहंगम चेतनानै अबको राजनीतिको मूलधार हो र गन्तब्य पनि। अतः अब क्रान्ति भित्र क्रान्तिको समय हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *