काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि विभिन्न मुलुकका समकक्षीले बधाई तथा शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलीलाई चीन, भारत, भुटान र पाकिस्तानका सरकार प्रमुखले बधाई तथा शुभकामना व्यक्त गरेका छन् । उनीहरूले प्रधानमन्त्री ओलीको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपाल र आफ्नो देशबीचको सम्बन्ध अझ बढ्ने विश्वास व्यक्त गरेका छन् । समकक्षीले शुभकामना दिनु स्वाभाविक पनि हो । तर त्यो भन्दाबढी यहाँ सरकार परिवर्तन भएसँगै चीन र भारतका राजदूतबीच प्रधानमन्त्री र मन्त्री भेट्न होडबाजी नै चलेको छ । केही समय अघिसम्म यस मामलामा चीन पछि रहेपनि पछिल्लो समय उसले सक्रियता बढाउन थालेको छ । राजदूतहरु प्रधानमन्त्री र मन्त्री भेट्न कतै निवास त कतै मन्त्रालय पुगेका छन् ।
भातीय राजदूत नविन श्रीवास्तवले सोमबारै शीतलनिवासमा शपथग्रहण समारोहमा प्रधानमन्त्री ओलीसँग भेट गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बधाई सन्देश सुनाएका थिए । सोही दिन उत्तरी छिमेकी चिनियाँ राजदूत छन् सङले बालुवाटार पुगेरै प्रधानमन्त्री ओलीसँग भेट गरी चिनियाँ समकक्षीको बधाई सन्देश सुनाएका थिए । भेटमा उनले दुई देशबीचको मित्रता अझै प्रगाढ बनाउने र सहयोग बढाउने विषयमा छलफल भएको बताए । प्रधानमन्त्रीसँगको भेटपछि राजदूतहरुले मन्त्रीहरुसँगको भेटलाई तीव्र बनाएका छन् ।
मंगलबार भारतीय राजदूत श्रीवास्तवले परराष्ट्रमन्त्री डा आरजु राणासँग भेट गरेका थिए । भेटमा उनीहरुबीच नेपाल–भारत द्विपक्षीय हित, परराष्ट्र सम्बन्ध र जनस्तरको सम्बन्धका विविध आयामबारे छलफल भएको मन्त्री राणाको सचिवालयले जनाएको छ । मंगलबार भारतीय राजदूतले परराष्ट्रमन्त्रीलाई भेट गरेकोमा बुधबार परराष्ट्रमन्त्रीलाई भेट्न चिनियाँ राजदूत छन् सोङ मन्त्रालय पुगेका थिए । परराष्ट्रमन्त्रीको कार्यकक्षमा भएको भेटमा नेपाल– चीन सम्बन्धका विविध पक्षका साथै आपसी हित र चासोका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राजदूतहरुको भेट यतिमा मात्रै सीमित छैन । उनीहरुले अन्य मन्त्रीसँग पनि भेट गरेका छन् । मंगलबार भारतीय राजदूत श्रीवास्तवले उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भेट गरेका छन् । भेटमा उहाँहरुबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको थियो । बुधबार पनि राजदूतले पनि भेटघाटलाई निरन्तरता दिए । बुधबार भारतीय राजदूत श्रीवास्तवले गृहमन्त्री रमेश लेखकसँग भेट गरेका छन् ।
त्यस्तै उनले बुधबारै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग पनि भेट गरे । भारत र चीनका राजदूतले प्रधानमन्त्री र मन्त्री भेट्न बढी सक्रियता देखाइरहेका बेला अमेरिकी राजदूत डिआर थम्पसनले भने बुधबार प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका छन् । भेटमा नेपाल र अमेरिकाबीचको सहयोगलाई सुदृढ बनाउन नेपाल सरकारसँग काम गर्न अमेरिका तत्पर रहेको राजदूतले बताएका थिए ।
राजदूतलाई भेट्न र राजदूतले भेट्न परराष्ट्र मन्त्रालयको अनुमति लिनुपर्ने कुरा बेलाबेलामा उठ्ने गरेको छ । तर त्यो विषय कुरामा मात्र सीमित हुने गरेको छ । हाम्रा राजदूतहरुले सहजै सम्बन्धित मुलुकका सरकार प्रमुख र मन्त्रीहरुसँग यति सहजै भेट्न नपाएको समाचार आउने गरेका छन् । तर हाम्रोमा भने मन्त्रीसँग राजदूतले भेट गरेका तस्बिर मन्त्रीको सचिवालयले भाइरल बनाउने गरेका छन् । नयाँ सरकार गठन भएपछि किन बढाउँछन् राजदूतहरुले सक्रियता ? अनि राजदूतले चाहेको बेला भेट्न पाउने कति सस्ता बनाउँदै छौं प्रधानमन्त्री र मन्त्रीलाई ? के यसले हाम्रो प्रतिष्ठा बढ्ला र ?
