काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यका लागि सहमति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार संसदमा विश्वासको मतको प्रस्ताव प्रस्तुत गरे । तर १८ महिनाको अवधिमा पाँचौं पटक विश्वासको मतको प्रस्ताव प्रस्तुत गरेका प्रचण्डले विश्वासको मत पाउन सकेनन् । उनका पक्षमा जम्मा ६३ मत मात्र पर्यो भने विपक्षमा १९४ मत परेको थियो । विश्वासको मत पाउन नसकेपछि प्रचण्ड सरकार ढलेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) बमोजिम सरकार गठनका लागि दाबी पेस गर्नका लागि आज साँझ पाँच बजेका लागि समय दिएका छन् । तर शुक्रबार राति नै नेपाली कांग्रेस र एमालेले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन माग गर्दै दाबी पेस गरिसकेका छन् ।
राष्ट्रपति पौडेलले आज ओलीलाई प्रधानमन्त्री नियुक्त गर्दैछन् । विश्वासको मत नपाउने प्रचण्डलाई सुरुमै थाहा थियो । तर संविधानको व्यवस्था अनुसार उनले विश्वासको मत लिने निर्णय गरेका थिए । विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई एमाले अध्यक्ष ओलीले झुक्याएको भन्दै लामो गुनासो संसदसमक्ष प्रस्तुत गरे । वामपन्थी आन्दोलनको भावुक बहकाउले आफू एमालेसहितको गठबन्धनमा लागेको र ओलीका कुराले आफू लट्ठ्यिाएको बताए । उनले भने, ‘मलाई राम्रो फकाउनुभयो । वामपन्थी पो मिल्नुपर्छ कांग्रेस को हो र भन्नुभो । धेरै धेरै धेरै धेरै । म मान्छे यस्तै छु, प्रचण्ड यस्तै छ । तपाईँहरूले चिन्नुभएको छ । अलिअलि सेन्टिमेन्टल, भावुक, मिठो गरी बोलेपछि होला त नि भनेर विश्वास गरेँ । फेरि वामपन्थी नै परेँ । अर्को चुनावमा पश्चिम बंगाल भइन्छ भनेपछि हो जस्तो लाग्यो । सरकारको गियर परिवर्तनका लागि हो जस्तो ठानेँ । जनतामा आशा पनि जगाइयो । तर जसलाई मैले वाम सेन्टिमेन्ट ठानेको थिएँ, विश्वास गरेँ त्यो षडयन्त्र रहेछ भन्ने थाहा पाउन म ढिला भएँ । केही मान्छे कुण्ठा र प्रतिशोधबाट बाहिर निस्किन सक्दैनन् भन्ने हिसाबै गर्न सकिनँ । लामा–लामा मिठा संवादहरूबाट लट्ठ्याइएँ । म अल्मलिए । स्वर्ग र नर्क सँगै जाने, मिलेर चुनाव लड्ने, पार्टी पनि एउटै बनाउने, ढुक्क हुनुस् भनेपछि मक्ख परेँ ।’
यसअघि एमालेसँग पार्टी एकता गरी नेकपा बनाउँदा पनि प्रचण्ड ओलीले धोका दिएको भन्दै बाहिरिएका थिए । पछि अदालतले माओवादी र एमालेको एकतालाई उल्टाइदिएपछि फेरि दुबैजना आआफ्नो पार्टीमा फर्किएका थिए ।
यतिबेला ओलीबाट धोका पाएको भन्दै गुनासो गरिरहेका प्रचण्डले गत फागुन २१ मा यसरी नै कांग्रेसलाई धोका दिएर एमालेसँग गठबन्धन गरेका थिए । तर शुक्रबारको सम्बोधनका क्रममा प्रचण्डले फागुनमा कांग्रेसलाई धोका दिएकोमा भने पश्चाताप गरे । ओलीलाई धोका दिएको आरोप लगाए पनि प्रचण्डले पटक पटक त्यस्तो धोका कांग्रेसलाई र एमालेलाई दिएका छन् ।
२०७९ को आमनिर्वाचनपछि एमालेको अगुवाईमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए । तर प्रधानमन्त्री बनेको दुई महिनापछि नै प्रचण्डले एमालेसँगको गठबन्धन छाडेर फेरि कांग्रेससँग गठबन्धन गरेका थिए ।
पहिलो राष्ट्रपति निर्वाचनमा कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला राष्ट्रपति बन्न चाहन्थे । तर माओवादी कोइरालालाई राष्ट्रपति बनाउन सहमत भएन । उसले एमालेलाई पनि राष्ट्रपति दिने आशा देखाएको थियो तर अन्तिममा ‘नवजनवादी मोर्चा’का अध्यक्ष रामराजाप्रसाद सिंहलाई माओवादीले राष्ट्रपतिको उमेदवार बनाएको थियो । तर कोइरालाले डा. रामबरण यादवलाई राष्ट्रपतिको उम्मेदवार बनाए र उनै यादव नेपालको प्रथम राष्ट्रपति बने । समयमा प्रचण्डले गिरिजाप्रसादलाई बुझेनन् र अहिले आएर गिरिजाप्रसादलाई राष्ट्रपति निर्वाचनमा धोका दिएको भन्दै पश्चतापको भाषण गर्ने गरेका छन् ।
वरिष्ठ पत्रकार किशोर नेपाल प्रचण्डले गिरिजाप्रसाद र केपी ओलीलाई चिन्न नसक्नु उनका लागि ठूलो भूल भएको टिप्पणी गर्छन् । उनी भन्छन्, ‘प्रचण्डजी प्रधानमन्त्री रहनु भएन । जनयुद्धको बाटो सत्तामा आउनु भएका माओवादी नेता आफैं परिवर्तनको चक्रब्युहमा फस्नु भयो । उहाँले न गिरिजाप्रसाद कोइरालालाई चिन्नु भयो, न समय रहँदै केपी ओलीलाई बुझ्नु भयो । भीरको चिण्डोमा अड्किएको देश भीरको चिण्डोमा नै अड्कियो ।’
