बालकोट होस् या बालुवाटार, बूढानीलकण्ठ होस् या बनस्थली, किन हुन्न महंगी र बेरोजगारी हटाउने कुरा ?

नारायण गाउँले ।
अस्ति चुनाव भएर हिजो बनेको बेलायती सरकारले पेन्सन, आवास, ब्याजदर, आर्थिक वृद्धि, स्वच्छ ऊर्जा, पर्यावरण र इमिग्रेशनदेखि दक्ष जनशक्ति विकाससम्म गहन छलफल र बहस शुरू गरिसक्यो । हाम्रो दुई वर्ष बित्न लाग्यो, तर बहस र छलफल भनेको तँ तँ र म म मात्रै छ । दिनभर धोकेबाज भनेर हाक–थू गर्यो, साँझ नपर्दै अँगालो हाल्यो । साँझसम्म ठग भन्यो, भ्रष्टाचारी भन्यो, भोलि बिहान स्वच्छताका लागि एक भयौं भन्यो ।

सरकारमा जाँदै जाँदैनौं भन्यो, आँखा पनि उठाएर हेर्दैनौं भन्यो, भोलिपल्टै गयो । फाइल खोल्छु भन्यो, भोलिपल्ट घरमैं पुगेर हात मिलायो । राजीनामा माग्ने र सरकार ढलाउने षड्यन्त्र गर्दै छस् भनेर सदनमा बोल्यो, साँझ उसैसित मिलेर बाँकी सरकारको राजीनामा माग्यो । अर्कोले गठबन्धन गर्दा अपवित्र भन्यो, राष्ट्रघाती र पश्चगामी भन्यो, आफू उसैसँग गाँसिन पाएचाहिँ जनताको सपना पूरा गर्ने महान् कदम भन्यो । काम गर्ने बेला गोजीमा राजीनामा छ भन्यो, दिने बेला पसिना काढ्यो !

कसैसँग संविधानको रक्षा गर्न भन्दै गठबन्धन गर्यो, फेरि अर्कोसँग त्यही संविधान फेर्न भन्दै साँठगाँठ गर्यो । पालैपालो धोका दिइस् भन्यो, गाली गर्यो, अनि फुत्त त्यही गर्यो । जनताको रगत पसिना र विदेशी ऋणले टन्न तलबभत्ता खायो, कामको नाममा खुराफात मात्रै गर्यो र एकअर्कालाई बल्ल खाइस् भन्यो, कुम बजायो ।

बालकोट होस् या बालुवाटार, बूढ़ानीलकण्ठ होस् या बालाजु, कहिल्यै कुनै एउटा बैठक, कुनै एउटा भेला, कुनै एउटा भेटघाट महंगी, बेरोजगारी या नागरिक समस्यालाई लिएर आयोजना भएको सुनिएको छैन । सरुवा, बढुवा, फिर्ता, बिर्ता, फुट्ने, जुट्ने, कुट्ने, लुट्नेदेखि तोड्ने, फोड्ने, बच्ने, बचाउने र पचाउनेबाहेक हाम्रा शीर्ष नेताले कहाँ कहिले र कति राष्ट्रिय समस्या र सम्भावनाबारे गहन छलफल चलाएका छन् भन्ने कसैलाई थाहा छैन ।

४० लाख युवा विदेशमा छन्, सरकारी विद्यालयमा शून्य नतिजा छ, तरकारी र खाद्यान्नमा विष र मिसावट छ, कुनै एउटा सड़क सद्दे र समयमा निर्माण सम्पन्न भएको छैन, देशका शहर विश्वकै प्रदूषित छन्, महानगरबाहिर एउटा गतिलो हस्पिटल र सुविधा छैन, गाउँमा औषधि छैन, बर्सेनि बाढ़ीपहिरोले सयौंको ज्यान जान्छ, नयाँ बनेका बाटोमा फुटपाथ छैन, एउटा अलि ठूलो उद्योग खोलम् भने जग्गा बाँकी छैन, भूमिसुधारको वैज्ञानिक नीति छैन, देशमा एउटा वैज्ञानिक प्रयोगशालासम्म छैन । राजश्वभन्दा ठूलो चालू खर्च छ, विकास खर्च भन्दा ठूलो ऋणको साँवाब्याज छ अनि बजेटभन्दा ठूलो व्यापारघाटा छ । गरिहाल्न पर्ने कामकुरा कति छ कति । तर हाम्रो राजनीति सरकार बनाउन, आफैंले बनाएको सरकार ढलाउन, राजदूत फिर्ता बोलाउन, टिकट काट्न नभ्याउँदै फेरि अड्याउन अनि आफूले गरेका यिनै क्रान्तिकारी कामको गुणगान गाउन व्यस्त छन् ।

तिनै मान्छे, त्यही सोच, त्यही तिकडम, त्यही प्रशंसा, त्यही गालीगलौज, त्यही आरोपप्रत्यारोप, त्यही चाटाचाट । त्यही नाटक सैयौं पटक । अनि यो सबैको खर्च र लगानी बेहोर्ने गरीब जनता । पसिना र करले तिनको पेट भर्न पनि नपुग्ने । जन्मिनै बाँकी छोरानातिको टाउकोमा समेत ऋण काढेर भोज भइसक्यो ।
पेट काटेर कर तिर्ने हामी, ऋणको भार बोक्ने हामी, अनि झोले पनि हामी । यति झोले कि लुट्ने र लुट्नका लागि कथाको मागअनुसार टुट्नेफुट्ने उनीहरू, एकआपसमा दाह्रा किटेर तँतँ मम गर्ने हामी । लाज पनि लजाउने गरी रङ्ग फेर्ने उनीहरू अनि नयाँ रङ्गको व्याख्या र औचित्य पुष्टि गर्न आफ्नै लगौंटी खोल्ने हामी । हाम्रो जय होस् !

Leave a Reply

Your email address will not be published. Required fields are marked *