दाहालको सत्तारोहण अन्त्यको सम्भावना उन्मुख

ऋषि कट्टेल ।
यदि यसपटक मोदी कार्ड असफल भयो र राजनीतिक घटनाक्रम यसैगरी बढ्यो भने केवल यसपटक मात्र हैन दाहालको जीवनकालमा सत्तारोहणको यात्रा सकिन सक्दछ । यही कुरालाई मनन गरेर नै आफू स्पष्ट रुपमा अल्पमतमा रहेको जान्दाजान्दै उनले संसदलाई अन्तिम पटक सम्बोधन गर्न खोजी रहेका छन् । यो कुरा स्पष्ट छ की यदि कांग्रेस एमालेको समीकरण पनि टिक्न सकेन भने यो संसदले काम गर्दैन र नयाँ निर्वाचनको बाटोमा जानुको बिकल्प सत्तासँग रहँदैन । नयाँ निर्वाचनमा जाँदा माओवादी पार्टीको चित्र कस्तो हुन्छ सबैलाई थाहानै छ ।

यथार्थतामा दाहाल विचारक, सिद्धान्तकार राजनतिज्ञ भएकोले यो उचाइमा पुगेका हैन रहेछ भन्ने कुरा उनका खुला गतिविधिका मूल्यांकनबाट प्रष्ट हुन्छ । उनी कुटिल चालका ज्ञाता, वेइमानी र धोखाधडीका इन्जिनियर र अन्तरविरोध र प्रयोगको भने विशेषज्ञनै रहेछन् । युद्ध र यसबाट आर्जित शक्तिको बलमा छोपिएका उनका यि कर्तुतहरु युद्धको समाप्ति सँगै उदांगो हुँदै गयो । शक्तिको समाप्ति सँगै नांगो रुपमा मानिसहरुले देखे ।

सत्ताबाट बाहिर्गमन भएर पनि दाहाल शान्तिपूर्वक बस्न पाउने ठाउँमा छैनन् । शान्ति सम्झौताका काम सकिएका छैनन् । टीआरसी विधेयक अलपत्रै छ । गोरखा फुजेलका अधिकारीको लास जलेको छैन । उनकी श्रीमती अनसनमै छिन् ।
सर्वोच्चमा उनीविरुद्ध ज्यनमारेको मुद्दा उनी प्रधानमन्त्री भएकै बेला दर्ता भएर बसेको छ । उनलाई युद्ध अपराधी घोषित गर्न विगत देखिनै ठूलो पंक्ति क्रियाशील छ । मारिएका, वेपत्ता पारिएका, घाइते अपांग परिवार, अयोग्य तथा वहिर्गमित लडाकुहरुको आक्रोश दाहालको सत्ता वहिर्गमन पछि चुलिने छ । उनीमाथि भ्रष्टाचारका अनेकन अभियोगहरु छन् । उनले यसको सामना नगरी सुख्खै छैन ।

यति धेरै संगीन र जटिल मोडमा उभिएका दाहालले सत्ता उन्मादमा आफ्नो विरोधीको घेरा धेरै फराकिलो र मित्रहरुको घेरा धेरै साँघुरो वनाएका छन् । यस्तो अवस्थावाट मुक्त भएर पुनः सत्तारोहण दाहाललाई फलामको च्युरा चपाए सरह हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *