केशवप्रसाद भट्टराई ।
अमेरिकी नेतृत्वको वर्तमान विश्व व्यवस्थाको निरन्तरताको लागि र भारतको एकता तथा अखण्डताको लागि नेपालले आफ्नो सामर्थ्य र क्षमताको उपयोग किन गर्नुपर्छ ?
१. अमेरिकी नेतृत्वको वर्तमान विश्व व्यवस्था ढल्ने सपना देखेर शरीरको अणु रमाएर–रसाएर लेख्ने, बोल्नेहरूले त्यसपछिको विश्वव्यापी राजनीतिक, सामिजिक अराजकता, अव्यवस्था , हिंसा, तनाव, युद्ध र आर्थिक महासंकटको परिकल्पना गरेका होलान् ? त्यसपछि कति मुलुक टुक्रिने र कति मुलुकको स्वतन्त्रताको अपहरण हुने, कति लाख र कति करोड जनताको आम नरसंहार होला भन्ने अनुमान गरेका होलान् ? विश्वको समुद्री मार्गमा हुने लुटपाट र डकैतीबाट विश्व व्यापारको रक्षा कसले गर्ने होला ?
२. विश्व व्यवस्थाको नेतृत्व अमेरिकाकै थियो, सोभियत सङ्घ विश्वको प्रमुख सैनिक र राजनीतिक शक्ति त थियो । तर प्रमुख आर्थिक शक्ति थिएन । तर पनि सोभियत सङ्घको पतनपछि एसिया, युरोप र अफ्रिकामा कति लाख निर्दोष जनताको हत्या भयो ? कति करोड जनताले राजनीतिक, सामाजिक र आर्थिक उथलपुथल र चरम आर्थिक सङ्कट बेहोर्नु पर्यो, हिसाव होला ? संसारका कति मुलुक टुक्रिए –राजनीतिक, सामाजिक र आर्थिक रुपमा अस्तव्यवस्त भए अझै ती शान्ति र स्थिरताको झिनो सपना बोकेर बाँचिरहेका छन् ।
३ . विश्व व्यवस्थाको नेतृत्व अमेरिकाको नहुँदो हो र नेपालको अमेरिकासँग दौत्य सम्बन्ध नभएको भए नेपालभन्दा धेरै समृद्ध र शक्तिशाली ५०० भन्दा बढी मुलुकहरू भारतमा गाभिँदा नेपालको स्वतन्त्रता र प्रभुसत्ताको अवस्था के हुन्थ्यो होला ? भारत र पाकिस्तानमा गाभिएका ती करीव ६०० मुलुकसँग अमेरिकासँग दौत्य सम्बन्ध थिएन । नेपालको स्वतन्त्रतालाई मान्यता दिइएको १९२३ को नेपालको ब्रिटेनसँगको जस्तो सन्धि उनीहरूसँग थिएन । उनीहरूसँग नेपालको फ्रान्ससँगको जस्तो दौत्य सम्बन्ध पनि थिएन । भारत स्वतन्त्र हुँदा र ती करिव ६ सय साना –ठूला राष्ट्र भारत र पाकिस्तानमा विलय हुँदा अमेरिकी नेतृत्वको विश्व व्यवस्थामा राष्ट्र सङ्घका तीन स्थायी सदस्यहरूसँगको नेपालको दौत्य सम्बन्ध थियो । राणाहरूले मुलुकलाई दिएको यो सवैभन्दा ठूलो योगदान थियो ।
४. अमेरिकी नेतृत्वको विश्व व्यवस्था ढल्दा पहिलो चरणमा पीडित हुने मुलुकहरूको सूचीमा नेपाल पर्ने कुरा विचारणीय होला । र अर्को कुरा, भारतको विखण्डनको सपना देखेर त्यसबाट नेपाको हित देख्नेहरूले के सोच्नु जाती होला भने भारतको त्यस्तो विखण्डन भैहाले पनि (यद्धपि जतिसुकै अभाव भएपनि भारतीय प्रजातन्त्रसँग देशको अखण्डता र एकता जोगाउने क्षमता छ भन्ने मेरो विश्वास छ ). नेपालले बिहार, बङ्गाल र युपीको तर्फबाट अहिलेको भन्दा कता हो कता धेरै कठिन थिचो –मिचोको सामना गर्नुपर्ला ! त्यस अवस्थामा विहारी, बंगाली र युपीवालाहरूले नेपालको स्वतन्त्रता र प्रभुसत्ताको सम्मान गरेर नबस्लान् ।
५ . त्यसैले हाम्रो प्रयासले धेरै नथेग्ला । तर पनि अमेरिकी नेतृत्वको वर्तमान विश्व व्यवस्थाको निरन्तरताको लागि र भारतको एकता र अखण्डताको लागि नेपालको आफ्नो सामर्थ्य र क्षमताको उपयोग हुनुपर्छ, गर्नुपर्छ ।
