आयाराम–गयाराम कि पल्टुराम ?

काठमाडौं ।  भारतको बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले आफ्नो सत्ता जोगाउन कहिले यता कहिले उता गरेपछि उनलाई ‘पल्टुराम’ भनिएको थियो । हो, नेपाली राजनीतिमा यतिबेला ‘आयाराम–गयाराम,’ ‘पल्टुराम’ ‘चिसो पानीले नुहायो’ खुब चलनचल्तीमा रहेको छ । खासमा संसदीय निर्वाचनमा गठबन्धन बनाएर चुनावमा होमिएका दलहरु एकठाउँमा उभिन नसक्नुका प्रचण्ड कारण भन्दै यतिबेला कतिपयले उनलाई ‘पल्टुराम’ को संज्ञा दिएका छन् । चुनावमा कांग्रेस, नेकपा एकीकृत समाजवादी, जसपा, राष्ट्रिय जनमोर्चासँग गठबन्धनमा चुनाव लडेका प्रचण्डले चुनावपछि प्रधानमन्त्री बन्न एमालेसँग गठबन्धन गरे । तर एमालेसँग गठबन्धन गरेको दुई महिनापछि फेरि उनी चुनावअघिकै गठबन्धनमा गए । तर त्यसको एकवर्षपछि गत फागुनमा प्रचण्ड फेरि कांग्रेससँगको गठबन्धन छाडेर फेरि एमालेसँगको गठबन्धनमा लागेका छन् । प्रचण्डको अस्थिर गतिविधिका कारण उनलाई ‘पल्टुराम’ भन्न थालिएको छ ।

नयाँ दलका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी पनि सुरुमा एमालेसँगै सरकारमा गएको थियो । तर नागरिकता विवादका कारण सभापति रवि लामिछानेको सांसद पद गएपछि रास्वपा सरकारबाट बाहिरिएको थियो । सरकारबाट बाहिरिएपछि रास्वपाले अब ८४ सालसम्म प्रतिपक्षमा बसेर जनताको आवाज बोल्ने बताउँदै आएको थियो । तर रास्वपा पनि ‘पल्टुराम’ भएर गत फागुनमा सरकारमा गयो । तर किन रास्वपा सरकारमा गयो भनेर धेरै प्रश्न उठेका छन् । रास्वपा सभापति लामिछाने सहकारी ठगी प्रकरण जोडिएका थिए । आफू त्यसबाट जोगिन रास्वपा सरकारमा गएको र त्यसमाथि रविले गृहमन्त्रीले चाहेको आरोप लागेको छ । जब उनी गृहमन्त्री बनेर सरकारमा गए, त्यसपछि स्वार्थका लागि गृह मन्त्रालय रोजेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठको माग गर्दै लामो समय सदन अवरुद्ध गर्यो । कांग्रेसको मागमा सत्तापक्ष लामो समयसम्म सहमत हुन सकेन भने रवि आफैंंले लौ छानबिन गर भनेर भन्न सकेनन् । त्यसबीचमा समिति गठन गर्न नदिने भनेर एमाले र रास्वपा जोडतोडका साथ लागे । रास्वपाको संसदीय दलको बैठक बसेर नै सहकारी हिनामिना प्रकरणमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न अस्वीकार गर्ने निर्णय गर्यो । सभापति लामिछानेमाथि सहकारी हिनामिना प्रकरणमा मिथ्या आरोप लगाएको भन्दै संसदीय छानबिन समिति गठन अस्वीकार गर्ने निर्णय गरेको हो । रास्वपाले पार्टी सभापतिको बचाउका लागि यस्तो निर्णय गर्नु स्वाभाविकै थियो ।

तर नेकपा एमाले रास्वपा भन्दा बढी उग्र भएर रविको बचाउमा उत्रियो । एमाले अध्यक्ष ओलीले समिति गठन कुनै हालत नगर्ने पटक पटक बताए । एमाले प्रमुख सचेतक महेश बर्तौलाले त कांग्रेसले आत्महत्या गर्छु भनेपनि समिति गठन नहुने भन्न समेत भ्याए । उनको भनाई थियो, ‘प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उठाएको विषय कानुनसम्मत छैन । कांग्रेसले समितिका नाममा सरकार माग गरेको हो ।कांग्रेसले आत्महत्या नै गर्छु भनेपनि माग पुराहुनेवाला छैन।’

संसदीय समिति गठन गर्दा त्यसको कार्यादेशमा रवि लामिछानेको नाम हुनैपर्ने अडान कांग्रेसले लिएको थियो । अन्ततः संसदीय समिति गठनमा सत्तापक्ष र प्रतिपक्ष सहमत भए । तर समितिको कार्यादेशमा रवि लामिछानेको नाम राख्नुपर्ने र राख्न नदिने विवाद धेरै पेचिलो बन्यो । कांग्रेसले सदन नै चल्न नदिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिँदा मार्सल नै लगाउनु परेको थियो । अवस्था तनापूर्ण भएपछि अन्तिममा रविको नाम नराख्ने तर रवि जोडिएका सहकारीको नाम राख्ने र त्यसका पदाधिकारीमाथि छानबिन गर्नेमा दुबै पक्ष सहमत भए । र अहिले संसदीय समिति गठन भएर त्यसले आफ्नो काम सुरु गरिसकेको छ । समितिलाई तीन महिनाको समय दिइएको छ ।

रविको नाम राख्नुपर्ने अडानबाट कांग्रेस पछि हटेपछि कतिपयले कांग्रेसले ‘चिसो पानीले नुहायो’ भन्न थालेका छन् ।
कांग्रेसमात्र होइन यस प्रकरणमा रास्वपा र एमालेमाथि पनि ‘चिसो पानीले नुहायो’ भन्ने आरोप लागेको छ । पार्टीको संसदीय दलको बैठक बसेर संसदीय समिति अस्वीकार गर्ने रास्वपा र ‘कांग्रेसले आत्महत्या नै गर्छु भनेपनि समिति गठन हुन नदिने’ भन्ने एमाले पनि समिति गठन गर्न बाध्य हुनुलाई ‘चिसो पानीले नुहायो’ भन्ने टिप्पणी गर्न थालिएको छ ।
यही बीचमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी विभाजन भएको छ । अशोक राईको नेतृत्वमा पार्टी विभाजन गर्दै सरकारमा सहभागी भएको छ भने उपेन्द्र यादव सरकारबाट बाहिरिएका छन् । यादव पक्षले प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टी फुटाएको आरोप लगाउँदै आएको छ । सत्ताका लागि यहाँ जसपा पनि ‘पल्टुराम’ भएको छ ।
अबको पार्टी विभाजनको तारो नेकपा एकीकृत समाजवादी परेको समाचार आइरहेका छन् । तर पार्टी अध्यक्ष माधव नेपाल पार्टी फोर्ने दुस्साहस पूरा नहुने बताउँदै आएका छन् । उनी भन्छन्, ‘पार्टी फोर्ने दुस्साहस गरेको छ भने सफल हुँदैन । हल्ला चलेको हो । फाटफुट, आयाराम–गयाराम भैरहन्छ । गयारामभन्दा आयाराम बढी छन् ।’

यो ‘पल्टुराम’ को समस्या नागरिक उन्मुक्ति पार्टीमा पनि छ । सत्तामा रहने र नरहने विवादले नागरिक उन्मुक्तिका अध्यक्ष रेशम चौधरी र रञ्जिता श्रेष्ठबीच विवाद छ । रञ्जिता प्रचण्ड गठबन्धनमा रहनुपर्ने तर रेशम कांग्रेसको गठबन्धनमा जानुपर्ने पक्षमा रहँदा ठूलो विवाद भइरहेको छ । रेशम आफू र श्रीमती रञ्जिता श्रेष्ठ बीचको सम्बन्धमा समेत फाटो ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल लागेको बताउँदै आएका छन् । उनको भनाई छ, ‘दुई–चार महिनादेखि हाम्रो घरमा आगो लगाइदिए यिनीहरुले । लोग्ने–स्वास्नीको बीचमा फाटो ल्याउन लाग्ने राजनीतिक दलले देशको विकास गर्लान् ? कस्तो नैतिकता, हाम्रो प्रधानमन्त्रीको बडा फुर्सद । प्रधानमन्त्रीलाई गीतको मोडल बनाएर खेलाउन मन लागेको छ मलाई ।’ तर नेपाली राजनीतिमा यो आयाराम, गयाराम र पल्टुराम चाहिँ कहिलेसम्म ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *