काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले संसद अवरोध गरेर नेपाली कांग्रेसले उत्ताउलोपन देखाएको आरोप लगाएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा सचिव भट्टराईले काङ्ग्रेसको सोच र विचारप्रति दया लागेर आएको बताए ।
उनले भने, ‘काङ्ग्रेसको तर्फबाट जुन खालका गतिविधिहरु भए, जुन खालको उत्ताउलो परिस्थिति सिर्जना भयो त्यो अचम्मलाग्दो छ । अघिल्लो दिनसम्म भगवान जस्तो प्रस्ताव गर्ने व्यक्ति भोलिपल्ट ८ बजे कसरी अपराधी हुन पुगेको होला ?’
उनले झापाको गिरीबन्धु जग्गा प्रकरणमा एमाले पार्टी र अध्यक्ष केपी शर्मा ओलीमाथि नियोजित ढंगले प्रचार र आरोप लगाउने षड्यन्त्र भएको भन्दै आपत्ति जनाए ।
उनले,’२०४६ सालपछि वा अगाडि कुन–कुन बेलाको छानबिन गर्नुपर्ने हो, प्रत्येक छानबिनको लागि एमाले तयार छ । एनसेलको गर्ने हो कि टेरामक्सको गर्ने हो कि ? बाँसबारीको गर्ने हो कि कोहलपुर जग्गाको गर्ने हो कि ? बालमन्दिरको गर्ने हो कि बालुवाटार जग्गाको कहाँ–कहाँ गर्ने ? हामीालई पार्टीको केन्द्रीय समितिमा दायाँ–बायाँ दाग लागेको व्यक्ति राखेर बैठक गर्नुपरेको छैन ।’
उनले सबै काण्डका विषयमा छानबिन गर्न आफूहरु तयार रहेको बताए । उनले भने, ‘प्रत्येक छानिबनका लागि आउँछौँ, यी तमाम विषयमा कांग्रेसकै साथीहरू बसेर छानबिन गरौँ । तपाईंहरू बसेर रिपोर्ट लिएर आउनुहोस् संसदमा । सबैको सामना गर्न एमाले तयार छ ।’
