बालेनलाई योगेश भट्टराईको जवाफः एमालेको नेतृत्वमाथि गालीगलौज गर्नु भनेको आफैँ आकाशतिर फर्किएर थुक्नुजस्तो हो

काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई आफ्नो मेयर पद नभूल्न चेतवावनी दिएको छ ।

मंगलबारको प्रतिनिधसभा बैठकमा एमाले सचिव योगेश भट्टराईले उत्तेजना फैलाउने अभिव्यक्ति नदिन मेयर साहलाई चेतावनी दिएका हुन् ।

उनले देशमा यो व्यवस्था ल्याउनको लागि मरिमेटेका नेता र एमालेको नेतृत्वमाथि गालीगलौज गर्न आफैँ आकाशतिर फर्किएर थुक्नुजस्तो भएको बताए ।

उनले भने, ‘बालेनजीलाई म भन्न चाहन्छु पैसा कति चाहियो सरकारले दिन तयार छ । प्रधानमन्त्री अर्थमन्त्री र सम्बन्धित मन्त्रीलाई भनौँला । तर उत्तेजना फैलाएर हुँदैन । अनर्गल प्रचार गर्न बन्द गर्नुस् । तपाईंमार्फत् लाखौँ युवाहरूले भविष्य खोजेका छन्।’

उनले लोकतन्त्रका लागि जेल बसेका नेताको अपमान गरेको भन्दै आपत्ति जनाए । उनले भने, ‘उहाँहरू नै जेल बसेर, अनि उहाँहरूको उत्तराधिकारी हामी लोकतान्त्रिक आन्दोलनमा लागेर यो व्यवस्था ल्याएका हौं । त्यसवापत आज तपाईं काठमाडौं महानगरपालिकाको प्रमुख हुनुभएको छ । अनि नेताहरूको जेल बसाइँलाई तपाईं मजाक उडाउने ? आज केपी ओली जेल बसेको कुरालाई तपाईं उडाउँदै हुनुहुन्छ । म भन्न चाहन्छु, यदि यस ढंगले भण्डाफोर गर्ने हो भने आफ्नै आमाको अस्तित्वप्रति चिथार्दै हुनुहुन्छ ।’

मेयर जितेर आएपछि अध्यक्ष केपी शर्मा ओलीले तबला उपहार दिएको स्मरण गराउँदै सचिव भट्टराईले संमयता नगुमाउन बालेनलाई आग्रह गरे ।

उनले झापाको गिरीबन्धु जग्गा प्रकरणमा एमाले पार्टी र अध्यक्ष केपी शर्मा ओलीमाथि नियोजित ढंगले प्रचार र आरोप लगाउने षड्यन्त्र भएको भन्दै आपत्ति जनाए ।

उनले,’२०४६ सालपछि वा अगाडि कुन–कुन बेलाको छानबिन गर्नुपर्ने हो, प्रत्येक छानबिनको लागि एमाले तयार छ । एनसेलको गर्ने हो कि टेरामक्सको गर्ने हो कि ? बाँसबारीको गर्ने हो कि कोहलपुर जग्गाको गर्ने हो कि ? बालमन्दिरको गर्ने हो कि बालुवाटार जग्गाको कहाँ–कहाँ गर्ने ? हामीालई पार्टीको केन्द्रीय समितिमा दायाँ–बायाँ दाग लागेको व्यक्ति राखेर बैठक गर्नुपरेको छैन ।’

उनले सबै काण्डका विषयमा छानबिन गर्न आफूहरु तयार रहेको बताए । उनले भने, ‘प्रत्येक छानिबनका लागि आउँछौँ, यी तमाम विषयमा कांग्रेसकै साथीहरू बसेर छानबिन गरौँ । तपाईंहरू बसेर रिपोर्ट लिएर आउनुहोस् संसदमा । सबैको सामना गर्न एमाले तयार छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *