एजेन्सी । इन्डियन प्रिमियर लिग(आईपीएल)मा हैदराबादले दोस्रो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा हैदराबादले चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराएको हो ।
जितको लागि १ सय ६६ रन पछ्याएको हैदराबादले १८.१ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । एडेन मार्क्रमले ३६ बलमा ४ चौका र एक छक्काको मद्दतमा सर्वाधिक ५० रन बनाए । यस्तै अभिषेक शर्माले ३७, ट्राभिस हेडले ३१, शहबाज अहमदले १८, नितिश कुमार रेड्डीले १४ र हेन्रीच क्लासेनले १० रन बनाए ।
चेन्नईको लागि मोइन अलीले दुई तथा दिपक चहार र महेश ठेक्शानाले समान एक/एक विकेट लिए ।
यसअघि राजिव गान्धी अन्तराष्ट्रिय स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६५ रन बनाएको थियो । चेन्नईको लागि शिभम डुबेले सर्वाधिक ४५ रन बनाए । यस्तै अजिंके रहाणेले ३५, रविन्द्र जडेजाले ३१, रुताराज गैकवाडले २६, डार्यल मिट्चेलले १३ र रचिन रविन्द्रले १२ रनको योगदान गरे ।
हैदराबादको लागि भुवनेश्वर कुमार, नातार्जन, प्याट कमिंस, शाबाज अहमद र जयदेभ उनाडकतले समान एक/एक विकेट लिए ।
जितसँगै हैदराबाद ४ खेलबाट ४ अंक जोड्दै तालिकाको शीर्ष पाँच स्थानमा उक्लिदा समान खेलबाट ४ नै अंक जोडेको चेन्नई तेस्रो स्थानमा यथावत छ ।
