इंग्लिस प्रिमियर लिगमा आर्सनल र सिटी विजयी

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा आर्सनल र म्यानचेस्टर सिटी विजयी भएका छन् । बुधबार राति भएको खेलमा आर्सनलले लुटनलाई २-० गोलले हराएको हो ।

इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनललाई जित दिलाउन मार्टिन ओडेगार्डले एक गोल गर्दा एक गोल उपहार पाएको हो । खेलको २४ औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई शुरुवाती अग्रता दिलाएका थिए । ४४ औं मिनेटमा हाशिकाले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि आर्सनलले खेलमा अग्रता दोब्बर बनाएको थियो ।

दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसक्दा आर्सनल २-० गोलले विजयी भएको हो । जितसँगै आर्सनल ३० खेलबाट ६८ अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट २२ अंक जोडेको लुटन १८ औं स्थानमा रहेको छ ।

यस्तै गएरातिनै भएको अर्को खेलमा म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई ४-१ गोलले हराएको हो । घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा सिटीलाई जित दिलाउन फिल फोडेनले ह्याट्रिक पूरा गर्दा रोद्रीले एक गोल थपे । भिल्लाको लागि जोन डुरानले एक गोल फर्काए ।

जितसँगै सिटी ३० खेलबाट ६७ अंक जोड्दै लिगको तेस्रो स्थानमा रहेको छ । समान खेलबाट ५९ अंक जोडेको भिल्ला चौथो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *