कांग्रेसको नेतृत्वमा गगनको विकल्प छैनः उपसभापति भुसाल

अर्घाखाँची । नेपाली कांग्रेसका उपसभापति पुष्पा भुसालले पार्टीको नेतृत्वमा गगनकुमार थापाको विकल्प नरहेको बताएकी छिन्  ।

उपसभापति भुसालले पार्टीको १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउँदै आन्तरिक गुट–उपगुटको अन्त्य गरी बलियो, सक्षम र जनतासँग जोडिएको कांग्रेस निर्माण गर्नुपर्ने बताइन् । रिपोटर्स क्लब नेपाल, लुम्बिनी प्रदेशले आज  सन्धिखर्कमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले भनिन्, “कांग्रेसको नेतृत्वमा अहिले गगनको विकल्प छैन ।”

पार्टीको १५औँ महाधिवेशन एकताको महाधिवेशन बन्नुपर्ने उल्लेख गर्दै उपसभापति भुसालले आन्तरिक गुटको अन्त्य गर्दै सबै पक्षलाई समेटेर बलियो र सक्षम कांग्रेस निर्माण गर्नुपर्नेमा जोड दिइन् । कांग्रेसको अहिलेको मुख्य जिम्मेवारी आन्तरिक समस्या समाधान गर्दै सङ्गठनलाई बलियो बनाउनु र पार्टीलाई जनताको पार्टीका रूपमा पुनःस्थापित गर्नु रहेको उनको भनाइ थियो ।

पन्ध्रौँ महाधिवेशनको प्रमुख कार्ययोजना नै अग्रजलाई सम्मान र युवालाई जिम्मेवारी दिनु रहेको उपसभापति भुसालले बताइन् । उनले कांग्रेसलाई आन्तरिक रूपमा बलियो बनाएर लोकतान्त्रिक मूल्य, राजनीतिक स्थिरता र मुलुकको विकासका मुद्दामा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *