लोकेश धामी, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो र दोस्रो संस्करणले नेपाली क्रिकेटमा फ्रेन्चाइज क्रिकेटको आधार तयार गर्यो । अब तेस्रो संस्करणतर्फ अघि बढ्दै गर्दा लिगको महत्वपूर्ण पक्ष विदेशी खेलाडीको सहभागिता बन्न पुगेको छ ।
विदेशी खेलाडी एनपिएलमा जोडिनु नौलो कुरा नभए पनि अन्तरराष्ट्रिय क्रिकेटमा स्थापित र दर्शकमाझ परिचित स्टारको सङ्ख्या बढ्दै जाँदा त्यसको प्रभाव लिगमा बढिरहेको छ । लिगको टोलीहरूबीच पनि चर्चित खेलाडीलाई भित्र्याउन तीव्र प्रतिस्पर्धा भइरहेको छ ।
अनुभवी विदेशी खेलाडीको आगमनले नेपाली खेलाडीले उनीहरूबाट सिक्ने अवसर, लिगको अन्तरराष्ट्रिय बजार, दर्शकको आकर्षण र फ्रेन्चाइजको व्यावसायिक मूल्यमा समेत यसको प्रभाव परेको क्यानका सचिव पारस खड्काले बताउनुभयो । उहाँ विदेशी चर्चित खेलाडी आउँदा एनपिएल मात्र नभइ नेपालको पर्यटनमै सहयोग पुगिरहेको बताउँछन् ।
‘‘विदेशी खेलाडी एनपिएलमा जोडिँदा क्रिकेट मात्र नभई नेपालको पर्यटनमा समेत ठूलो सहयोग पुगिरहेको छ । विगत संस्करणमा जोडिनुभएका स्टार खेलाडीका कारण क्रिकेटसँगै यहाँको पर्यटनको चर्चा पनि भएको थियो । धेरै विदेशी खेलाडीले नेपालको प्रसिद्ध ठाउँहरूको तस्बिर भिडियो सामाजिक सञ्जालमा राख्नुभएको थियो । त्यसले गर्दा नेपालको पर्यटनले अन्तरराष्ट्रियस्तरमै चर्चा पाएको विश्वास छ’’, सचिव खड्काले रासससँग भने, ‘‘यसपालि पनि चर्चित विदेशी खेलाडी जोडिनेक्रम जारी छ । उनीहरूको आगमनले लिगले उचाइ पाउनुका साथै नेपालको अर्थतन्त्रमा पनि सहयोग पुग्नेछ ।’’
चर्चित विदेशी खेलाडीसँग एउटै टोलीमा रहेर खेल्ने अवसरले नेपाली युवा खेलाडीलाई खेल कौशलसँगै मानसिकरूपमा पनि बलियो बनाउनसक्ने उनको बुझाइ छ । अन्तरराष्ट्रिय क्रिकेटमा स्थापित खेलाडीको प्रशिक्षण शैली, खेलप्रतिको अनुशासन, तयारी र मैदानमा दबाब सामना गर्ने तरिका नेपाली खेलाडीका लागि प्रत्यक्ष सिकाइको माध्यम बन्नसक्ने खड्का बताउँछन् ।
आफूले लामो समयदेखि आदर्श मानेका खेलाडीसँग एउटै ‘ड्रेसिङ रुम’ मा बस्नु र मैदानमा सँगै उत्रिनु युवा खेलाडीका लागि महत्वपूर्ण अनुभव हुने उहाँको भनाइ छ । यस्ता अवसरले नयाँ खेलाडीको आत्मविश्वास बढाउन तथा आफूले खेल्दै आएको क्रिकेटलाई अझ फराकिलो दृष्टिले बुझ्न सहयोग पुग्ने खड्का बताउँछन् । ‘‘आफूले आदर्श मानेका खेलाडीसँगै ड्रेसिङ रुम सेयर गर्न पाउनु युवा खेलाडीका लागि ठूलो उपलब्धि हो, जसलाई सानैदेखि मैदानमा देखियो, उही खेलाडी आफ्नै मैदानमा खेलेको देख्दा युवा खेलाडीमा हौसला अवश्य नै बढ्छ’’, राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तानसमेत रहेका खड्काले भने ।
विदेशी खेलाडीबाट प्राप्त हुने यस्तो अनुभव खेल सकिएसँगै समाप्त नहुने खड्काको बुझाइ छ । एउटै टोलीमा रहेर अभ्यास र खेल खेल्दा नेपाली खेलाडीले उनीहरूको व्यावसायिकता, समय व्यवस्थापन, ‘फिटनेस’प्रतिको ध्यान तथा खेलअघि र खेलपछि गरिने तयारीलाई नजिकबाट नियाल्न पाउने गरेको क्यानका म्यानेजर विनोद दास बताउँछन् ।
अष्ट्रेलियाका विश्वकप विजेता खेलाडी डेविड वार्नरको आगमनले नेपालका युवा खेलाडीलाई थप सहयोग पुग्ने पनि उनी बताउँछन् । ‘‘वार्नरको अनुभव र खेल्ने शैलीबाट नेपाली खेलाडीले प्रत्यक्षरूपमा धेरै कुरा सिक्न पाउने छन् । यसले एनपिएलको स्तर र अन्तरराष्ट्रिय ध्यानसमेत बढाउन मद्दत गर्नेछ’’, नेपालको यू–१९ टोलीका पूर्वप्रशिक्षकसमेत रहेका दासले भने, ‘‘विश्वस्तरीय खेलाडीलाई आफ्नै मैदानमा खेलेको हेर्न पाउनु नेपाली युवा खेलाडीका लागि ठूलो प्रेरणा हो । यसले उनीहरूलाई अझ मेहनत गर्न उत्साहित गर्नेछ ।’’
लगातार स्टार खेलाडी जोडिँदा एनपिएलले अन्तरराष्ट्रिय क्रिकेटमा थप चर्चा पाउने पनि उनको विश्वास छ । ‘‘वार्नरजस्ता विश्व क्रिकेटका स्टार नेपालमा आएर खेल्नु आफैँमा उपलब्धि हो । उहाँको नेपाल आगमनले एनपिएलको ब्रान्ड बढ्नेछ’’, नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तानसमेत रहेका दासले भने, ‘‘वार्नरको उपस्थितिले एनपिएलप्रति दर्शक र क्रिकेट समर्थकको आकर्षण अझ बढ्नेछ । उहाँहरू जस्ता चर्चित खेलाडीको सहभागिताले प्रतियोगिताको प्रतिस्पर्धात्मक वातावरण पनि बलियो बनाउनेमा आशावादी छौँ ।’’
उनले काठमाडौँ गोर्खाजमा वार्नरको अनुबन्धले अन्य चर्चित विदेशी खेलाडीलाई समेत एनपिएलमा सहभागी हुन आकर्षित गर्ने वातावरण बन्नेसमेत बताए । ‘‘वार्नरजस्ता विश्वस्तरीय खेलाडी नेपाल आएर एनपिएल खेल्दा अन्य चर्चित विदेशी खेलाडीलाई पनि नेपालमा आएर क्रिकेट खेल्न सकारात्मक वातावरण बनाउन सहयोग गर्नेछ । विश्व क्रिकेटका आइकन मानिने खेलाडी नेपाल आएर खेल्न थालेपछि एनपिएलप्रति विदेशी खेलाडीको विश्वास र आकर्षण बढ्न सक्छ । त्यसले आगामी दिनमा अझ स्तरीय विदेशी खेलाडीलाई एनपिएलमा ल्याउने बाटो सहज बनाउनेछ’’, दासले भने ।
एनपिएलमा विदेशी खेलाडीको सहभागिताले नेपाली क्रिकेटलाई नयाँ अनुभव र अवसर थपिरहेको नेपाली राष्ट्रिय टी–२० टोलीका कप्तान दीपेन्द्र सिंह ऐरीको बुझाइ छ । अन्तरराष्ट्रियस्तरमा खेलिसकेका स्टारसँग एउटै प्रतियोगितामा प्रतिस्पर्धा गर्दा नेपाली खेलाडीले उनीहरूको खेल्ने शैली, तयारी र अनुभवबाट सिक्ने अवसर पाउने उनको भनाइ छ । विदेशी खेलाडीको उपस्थितिले नेपाली खेलाडीलाई उच्चस्तरको क्रिकेटमा आफूलाई परीक्षण गर्ने वातावरणसमेत तयार हुने ऐरी बताउँछन् ।
उहाँका अनुसार विदेशी खेलाडीको सहभागिताले एनपिएलको प्रतिस्पर्धात्मक स्तर बढाउनुका साथै नेपाली क्रिकेटप्रतिको बाह्य चासो बढाउन पनि सहयोग पुग्न सक्छ । ‘‘विदेशी खेलाडी आउँदा नेपाली क्रिकेटलाई एकदमै राम्रो भइरहेको छ । उनीहरू आउँदा नेपाली क्रिकेटको स्तर बढिरहेको छ । विदेशी खेलाडीहरूसँग खेल्दा नेपाली खेलाडीले धेरै कुरा सिक्ने अवसर पाउँछन् र त्यसले नेपाली क्रिकेटलाई अगाडि बढाउन सहयोग गर्छ’’, एनपिएल टोली सुदूरपश्चिम रोयल्सका कप्तानसमेत रहेका ऐरीले भने ।
एनपिएल–३ खेल्ने ५ चर्चित विदेशी खेलाडी
डेविड वार्नर (अष्ट्रेलिया): अष्ट्रेलियाका आक्रामक ब्याटर वार्नरले अन्तरराष्ट्रिय क्रिकेटमा लामो समय प्रभाव जमाएको खेलाडी हुन् । उनी अष्ट्रेलियाले सन् २०१५ र २०२३ मा एकदिवसीय विश्वकप जित्दा टोलीका महत्वपूर्ण सदस्य थिए । टेष्ट, एकदिवसीय र टी–२० तीनै स्वरूपमा उत्कृष्ट प्रदर्शन गर्नुभएका वार्नरले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा पनि खेलिसकेका छन् ।
उनको अनुभव र आक्रामक ब्याटिङ एनपिएलका लागि आकर्षणको विषय बनेको छ । वार्नरले हालसम्म अन्तरराष्ट्रिय क्रिकेटमा कुल १८ हजार ९९५ रन बनाएका छन् । उनीसँग व्यावसायिक क्रिकेट खेलेको पनि लामो अनुभव छ । वार्नरले इन्डियन प्रिमियर लिग (आइपिएल), पाकिस्तान सुपर लिग (पिएसएल), बिग बास लिग (बिबिएल), क्यारेबियन प्रिमियर लिग (सिपिएल), बङ्गलादेश प्रिमियर लिग (बिपिएल) सहित एक दर्जनजति प्रतिष्ठित लिग खेलिसकेका छन् । ती लिगहरूमा उनको क्रिकेटर करिअर उत्कृष्ट रह्यो । अब ३९ वर्षीय वार्नर नेपाल प्रिमियर लिग (एनपिएल) मा पनि आफ्नो सानदार प्रदर्शन गर्न चाहन्छन् ।
शाकिब अल हसन (बङ्गलादेश): एनपिएल–३ खेल्ने अर्का चर्चित विदेशी खेलाडी हुन् बङ्गलादेशका पूर्वकप्तान शाकिब अल हसन । उनी पोखरा एभेन्जर्सबाट एनपिएल खेल्ने तयारीमा छन् । विश्व क्रिकेटमा स्थापित अलराउन्डरको सूचीमा शाकिबको नाम पनि आउँछ ।
बायाँहाते ब्याटिङसँगै बायाँहाते स्पिन बलिङ गर्ने उनले लामो समय बङ्गलादेशको राष्ट्रिय टोलीको नेतृत्वसमेत गरे । शाकिबले बङ्गलादेशका लागि कुल १४ हजार ७३० रन बताएका छन् । साथै उनले पनि एक दर्जनजति विदेशी लिगको अनुभव हासिल गरिसकेका छन् । अन्तरराष्ट्रिय क्रिकेटसँगै विभिन्न फ्रेन्चाइज लिग खेलेको अनुभव बोकेका शाकिबको उपस्थितिले पोखरा एभेन्जर्सलाई अनुभव थप्नेछ ।
जिमी निसम (न्युजिल्याण्ड): एनपिएलको तेस्रो संस्करणमा देखिने अर्का चर्चित खेलाडी हुन्, न्युजिल्यान्डका अलराउन्डर जिमी निसम । उनी लगातार तेस्रोपटक एनपिएल खेल्ने तयारीमा छन् । निसमले अघिल्लो दुई सिजन फरक–फरक टोलीबाट एनपिएलमा सहभागिता जनाएका थिए । आसन्न संस्करणमा उनी पुनः जनकपुर बोल्ट्समा फर्किएका छन् । नीशमले पहिलो सिजनमा जनकपुरलाई उपाधि दिलाउन अहम् योगदान दिएका थिए ।
उनी लामो समयदेखि अन्तरराष्ट्रिय क्रिकेटमा सक्रिय छन् । ब्याटिङ र बलिङ दुवैमा योगदान दिनसक्ने नीसमले विश्वका विभिन्न टी–२० फ्रेन्चाइज प्रतियोगितामा समेत खेलिसकेका छन् । दबाबपूर्ण अवस्थामा आक्रामक ब्याटिङ गर्न सक्ने उनको क्षमतालाई टोलीका लागि महत्वपूर्ण मानिन्छ । ३६ वर्षीय निशमले हालसम्म अन्तरराष्ट्रिय क्रिकेटमा तीन हजार ३०९ रन बनाउनुका साथै १४९ विकेट लिएका छन् । उनले एक दर्जनभन्दा बढी विदेशी लिग खेलिसकेका छन् ।
रवि बोपारा (इङ्ल्याण्ड): एनपिएल २०२६ मा देखिने अर्का चर्चित विदेशी खेलाडी हुन्छ, इङ्ल्याण्डका अनुभवी अलराउन्डर बोपारा । उनी लगातार तेस्रोपटक चितवन राइनोजबाट एनपिएल खेल्दै हुन् । बोपारासँग पनि पनि अन्तरराष्ट्रिय क्रिकेटसँगै विश्वका विभिन्न टी–२० फ्रेन्चाइज प्रतियोगिताको लामो अनुभव छ ।
ब्याटिङ र मध्यम गतिका बलिङबाट योगदान दिनसक्ने बोपारा विशेषगरी फ्रेन्चाइज क्रिकेटमा अनुभवी खेलाडीका रूपमा परिचित हुन् । ४१ वर्षीय बोपाराले इङ्ल्याण्डका लागि कुल तीन हजार ९८१ रन बनाउनुका साथै ५७ विकेट लिएका छन् । उनले झण्डै एक दर्जनजति विदेशी लिग खेलेका छन् । बोपाराको अनुभव चितवन राइनोजका लागि उपयोगी हुनसक्ने अपेक्षा गरिएको छ ।
सिकन्दर राजा (जिम्बाब्बे): एनपिएलको तेस्रो संस्करणमा जोडिने अर्का चर्चित खेलाडी हुन्, जिम्बाब्वे टोलीका कप्तान सिकन्दर राजा । उनी ताजा स्थितिमा अन्तरराष्ट्रिय टी–२० क्रिकेटमा प्रमुख अलराउन्डरको रूपमा परिचित छन् । आक्रामक ब्याटिङसँगै अफस्पिन बलिङ गर्न सक्ने राजाले विभिन्न अन्तरराष्ट्रिय तथा फ्रेन्चाइज प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरेका छन् । उनले हालसम्म अन्तराष्ट्रिय क्रिकेटमा नौ हजार ३८२ रन बनाउनुका साथै २५२ विकेट लिएका छन् । ४० वर्षीय राजाको अलराउन्ड क्षमताले चितवन राइनोजलाई ब्याटिङ र बलिङ दुवैमा विकल्प थप्नेछ ।
वार्नर, शाकिब, निसम, बोपारा र राजाजस्ता अनुभवी खेलाडीको उपस्थितिले नेपाली खेलाडीलाई विश्वस्तरीय क्रिकेटरको अभ्यास, तयारी र खेल्ने शैलीलाई नजिकबाट बुझ्ने अवसर दिनेमा एनपिएल टोली विश्वस्त छन् । उनीहरूकोको आगमनले नेपाली क्रिकेटप्रति अन्तरराष्ट्रिय चासो बढाउन र एनपिएलको पहिचानलाई थप फराकिलो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको एनपिएल टोली विराटनगर किंग्सका निर्देशक दीपेन्द्र चौधरी बताउँछन् ।
‘‘तेस्रो संस्करणमा चर्चित विदेशी खेलाडीको सहभागिताले एनपिएललाई नयाँ उचाइतर्फ लैजाने छ । यसले नेपाली क्रिकेटका लागि सिकाइ र अवसरको अर्को ढोका खोल्ने देखिन्छ’’, चौधरीले भने, ‘‘विदेशी खेलाडीको सहभागिताबाट प्राप्त हुने लाभलाई प्रतियोगिता अवधिमै सीमित नराखी त्यसलाई नेपाली क्रिकेटको दीर्घकालीन विकाससँग जोड्नु महत्वपूर्ण हुनेछ । उनीहरूसँग नेपाली खेलाडीले सिकेको अनुभव प्रशिक्षण, घरेलु प्रतियोगिता र राष्ट्रिय टोलीसम्म पुग्न सके त्यसको प्रभाव अझ अर्थपूर्ण बन्न सक्छ ।’’
एनपिएलको तेस्रो सिजन कात्तिक ९ गतेदेखि काठमाडौँमा आयोजना हुँदैछ । क्यानले लिगको तालिका सार्वजनिक गरिसकेको छ । प्रतियोगिताको उद्घाटन खेलमा गत संस्करण विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्ने तालिका छ ।
