एजेन्सी । प्रि-सिजन अन्तर्गत भएको खेलमा इन्टर मियामी पराजित भएको छ । सोमबार राति भएको खेलमा मियामी अल हिलालसँग ४-३ गोलले पराजित भएको हो ।
घरेलु मैदानमा भएको खेलमा अल हिलाललाई जित दिलाउन एलेक्सान्डर मिट्रोभिक, अब्दुल्लाह अल हाम्दान, माइकल र म्लाकमले समान एक-एक गोल गरे । मियामीको लागि लियोनल मेस्सी, लुइस सुवारेज र डेभिड रुईजले समान एक-एक गोल गरे । खेलको १९ औं मिनेटमा मिट्रोभिकले गोल गर्दै अल हिलाललाई शुरुवाती अग्रता दिलाएका थिए । तीन मिनेटपछि हाम्दानले गोल थप्दै अल हिलालको अग्रता दोब्बर बनाए ।
३४ औं मिनेटमा सुवारेजले गोल गर्दै मियामीलाई २-१ गोलको स्थितिमा ल्याएका थिए । १० मिनेटपछि माइकलले गोल गर्दै हिलाललाई ३-१ गोलको अग्रता दिलाए । ५४ औं मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गर्दै मियामीलाई ३-२ गोलको स्थितिमा ल्याएका थिए । ५५ औं मिनेटमा रुइजले गोल गर्दै मियामीलाई ३-३ गोलको बराबरीमा ल्याए ।
यस्तै ८८ औं मिनेटमा माल्कमले गोल गर्दै अल हिलाललाई ४-३ गोलको जित दिलाएका हुन् । मियामी पछिल्लो पाँच खेलमा जित विहिन रहेको छ । अब फेब्रुअरी १ मा हुने खेलमा मेस्सीको मियामीले स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो सम्मिलित अल नासरको सामना गर्नेछ ।
