काठमाडौं । नेदरल्यान्ड्स समूह ‘एफ’को विजेताको रुपमा फिफा विश्वकप-२०२६ को नकआउट चरणमा पुग्दा जापान र स्विडेनलेपनि अन्तिम ३२ मा स्थान सुरक्षित गरेका छन् । मंगलबार बिहान भएको खेलमा टुनिसियालाई ३-१ गोलले पराजित गर्दै नेदरल्यान्ड्स समूह विजेता बनेको हो ।
कान्सास सिटी स्टेडियममा भएको खेलमा नेदरल्यान्ड्सलाई जित दिलाउन ब्रायन ब्रोबी र जान पाउल भान हेच्केले समान एक/एक गोल गर्दा एक गोल उपहार पाएको हो । टुनिसियाको लागि हाजेम मास्टोउरीले एक गोल फर्काए । खेलको छैटौँ मिनेटमा इलियस स्खिरीले गोल गर्दै नेदरल्यान्ड्सलाई शुरुवाती अग्रता दिलाएका थिए ।
चार मिनेटपछि ब्रोबीले गोल गर्दै नेदरल्यान्ड्सको अग्रता दोब्बर बनाए । ५४ औँ मिनेटमा मास्टोउरीले गोल गर्दै टुनिसियालाई खेलमा फर्काउने प्रयास गरेका थिए । ६२ औँ मिनेटमा भान हेस्केले गोल गर्दै नेदरल्यान्ड्सलाई ३-१ गोलको अग्रता दिलाए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा नेदरल्यान्ड्स ३-१ गोलले विजयी भएको हो ।
यस्तै गएरातिनै भएको समूहको अर्को खेलमा जापान र स्विडेनले १-१ गोलको बराबरी खेलेका हुन् । डाल्लास स्टेडियममा भएको खेलमा जापानको लागि डाइजेन माएडा र स्विडेनको लागि एन्थोनी इलान्गाले समान एक/एक गोल गरे ।
जितसँगै नेदरल्यान्ड्स ३ खेलबाट ७ अंक जोड्दै शीर्ष स्थानमा रहँदा टुनिसिया अंकविहीन रहँदै पुछारमा रह्यो । जापान समान तीन खेलबाट ५ अंक जोड्दै दोस्रो र स्विडेन ४ अंक जोड्दै तेस्रो स्थानमा रहेर अन्तिम ३२ मा पुगेका हुन् ।
