काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका नेपाली राट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेमाथि आज सजाय निर्धारण हुँदैछ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले आज लामिछानेमाथि कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ । फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको व्यवस्थाका आधारमा सजाय तोक्नका लागि आजलाई पेसी तोकिएको हो ।
शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश ढकालको इजलासले सन्दीपलाई दोषी ठहर गरेको थियो । सजाय तोक्नका लागि आज पुस २५ गतेलाई पेसी तोकिएको थियो ।
शुक्रबार सरकारी वकिल र पीडितका वकिलले बहस गरिसकेपछि आरोपित लामिछानेको पक्षका कानुन व्यवसायीले बहस गरेका थिए ।
लामिछानेविरुद्ध एक किशोरीले करणीको आरोपमा २०७९ भदौ २१ मा प्रहरीमा जाहेरी दिएकी छन् । आफूलाई लामिछानेले भदौ ५ गते तिलगंगाको एक होटलमा बलात्कार गरेको भन्दै पीडितले दिएको जाहेरी प्रहरीले भदौ २२ गते दर्ता गरेर अनुसन्धान अघि बढाएको थियो ।