फ्रान्समा ३४ वर्षीय अटल बने प्रधानमन्त्री

बीबीसी । गाब्रिअल अटल फ्रान्सका नयाँ प्रधानमन्त्रीका रूपमा अगाडि सारिएका छन् । एमानुअल माक्रोँले आफ्नो राष्ट्रपति कार्यकाललाई नयाँ सरकारसहित पुनर्संरचना गर्न खोजिरहँदा उनको नाम आएको हो । ३४ वर्षीय गाब्रिअल अटल आधुनिक फ्रान्सको इतिहासमा प्रधानमन्त्री हुने सबैभन्दा कान्छा व्यक्ति हुन् । यसअघि समाजवादी लरेन्ट फाबिअस सन् १९८४ मा ३७ वर्षका हुँदा प्रधानमन्त्री नियुक्त भएका थिए ।

अटल २० महिना काम गरेर राजीनामा दिएकी एलिसाबेथ बोर्नको उत्तराधिकारी बनेका छन् । आफ्नो कार्यकालभर उनले संसदमा बहुमतको अभावसँग सङ्घर्ष गरेकी थिइन् । हाल शिक्षामन्त्रीका रूपमा रहेका अटलले धेरैलाई अचम्मित पार्दै अगाडि गएका हुन् ।

अब उनीसँग जून महिनामा हुने महत्वपूर्ण युरोपेली संसद्को निर्वाचनमा फ्रान्स सरकारको नेतृत्व गर्ने दायित्व हुनेछ । उनी प्रधानमन्त्री कार्यालय सम्हाल्न पाउने पहिलो समलिङ्गी व्यक्ति हुन् ।

उनको राजनीतिक उन्नति निकै तीव्र गतिमा भएको पाइन्छ । दश वर्षअघि उनी देशको स्वास्थ्य मन्त्रालयमा प्रस्ट भूमिका नभएका सल्लाहकार र सोसलिस्ट कार्यकर्ता थिए माक्रोँको सन् २०१७ को चुनावका बेला अटल सांसद बनेका थिए। बहस गर्नमा सिपालु उनी त्यसबेला देखि नै राष्ट्रपतिको आँखामा परेका थिए ।

२९ वर्षको उमेरमा उनी फ्रान्सको सरकारमा सबैभन्दा कान्छा मन्त्री बनेका थिए। जतिखेर उनी कनिष्ठ शिक्षा मन्त्री बनेका थिए । सन् २०२० यता उनी सरकारी प्रवक्ताका रूपमा छन्। त्यसबेला देखि नै उनी मतदातामाझ राम्रोसँग चिनिन थाले । सन् २०२२ मा राष्ट्रपति माक्रोँ पुनर्निर्वाचित भएपछि उनी छोटो समय बजेट मन्त्री भए र गत जुलाईमा शिक्षामन्त्री बने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *