मुस्ताङमा स्याउ टिप्न कार्यतालिका

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा स्याउ टिप्ने कार्यतालिका सार्वजनिक गरिएको छ । छिटो पाक्ने स्याउ यही भदौ १५ गतेदेखि टिप्नुपर्नेछ । यस्तै ढिलो पाक्ने स्याउ भने भदौ २२ गतेपछि मात्रै टिप्न सकिनेछ ।

उक्त कार्यतालिका कार्यान्वयनमा लैजान सबै स्थानीय तह, कृषक र व्यापारीलाई अनुरोध गरिएको कृषि तथा पशु सेवा विकास कार्यालय मुस्ताङका प्रमुख डा. लालमणि अर्यालले जानकारी दिए । मुस्ताङका किसानले स्थानीय र हाइब्रिड स्याउ खेती गर्दै आएका छन् । स्याउको ‘सिजन’ शुरू भएसँगै व्यापारी मुस्ताङ आउन थालेका छन् ।

अग्रिम रूपमा पैसा बुझाएका व्यापारीले स्याउ टिप्न हतार गरेपछि जिल्ला समन्वय समितिले छलफल गरेर कार्यतालिका तय गरेको हो । घरपझोङ—५ ठिनीका वडाध्यक्ष प्रदीप थकालीका अनुसार मुस्ताङको स्याउको पहिचान राख्न सबैको साथ र सहयोग जरुरी छ ।

कतिपय कृषक र व्यापारीले मुनाफाका लागि हतार हतार बजार पुर्याउँदा मुस्ताङको स्याउको गुणस्तरप्रति उपभोक्ताले गुनासो गर्ने गरेका थिए । गुनासो आउन नदिन छलफलका आधारमा कार्यतालिका निर्धारण गरिएको जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख माया गुरुङले जानकारी दिए।

कृषि तथा पशु सेवा विकास कार्यालयका अनुसार गत बर्ष मुस्ताङमा रु एक अर्ब बराबरको स्याउ उत्पादन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *