चिनियाँ गुप्तचरलाई संवेदनशील सूचना बेचेको आरोपमा अमेरिकी सैनिकलाई जेल सजाय

चीनलाई संवेदनशील सैन्य सूचना दिएको अभियोगमा अमेरिकी जलसेनाका एक कर्मचारीलाई दुई वर्षभन्दा बढीको जेल सजाय सुनाइएको छ। उनी चिनियाँ मूलका अमेरिकी नागरिक हुन् ।

२६ वर्षीय वेन्हङ झाओले पैसा लिएर चिनियाँ गुप्तचर निकायलाई त्यस्तो सूचना दिएको आरोप गत अक्टोबरमा स्वीकार गरेका थिए । उनी अमेरिकी जलसेनाको क्यालिफोर्नियास्थित एउटा शिविरमा निम्न तहका कर्मचारी थिए ।

अमेरिकी अधिकारीहरूका वेन्हङ झाओले सन् २०२१ देखि सन् २०२३ को बीचको अवधिमा सैन्य अभ्यास, गतिविधिसम्बन्धी आदेश र संवेदनशील पूर्वाधारबारे सूचना बेचेका थिए ।

विशेष गरी उनले अमेरिकी जलसेनाले इन्डो–प्यासिफिक क्षेत्रमा ठूलो स्तरमा गर्न लागेको अभ्यासबारे सूचना चिनियाँ गुप्तचर निकायलाई दिएका थिए । त्यसबाहेक जापानको ओकिनावा टापुस्थित अमेरिकी शिविरमा रहेको रेडार प्रणालीको विद्युतीय चित्र र ‘ब्लूप्रिन्ट’ अर्थात् खाका पनि उनले दिएका थिए । ओकिनावामा अवस्थित अमेरिकी जलसेनाको शिविरलाई एशियामा अमेरिकी कारबाहीको महत्त्वपूर्ण स्रोत मानिन्छ ।

तर अमेरिकी अधिकारीहरूले अरू देशका जलसैनिक अभ्यासबारे सूचना चुहिएको कुनै सङ्केत दिएका छैनन् । वेन्हङ झाओसँग ‘सुरक्षा क्लिअरन्स’ थियो अर्थात् उनीसँग निषेधिक क्षेत्रमा पनि जान पाउने अनुमति थियो।

निषेधित मानिएका सैनिक र जलसैनिक पूर्वाधारमा प्रवेश गरेर उनले संवेदनशील सूचना सङ्कलन र अभिलेख गरेको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ । सन् २०२१ को अगस्टदेखि सन् २०२३ को मेसम्ममा उनलाई १४ पटक पैसा दिइएको र त्यस क्रममा उनले कम्तीमा १४ हजार ८६६ डलर प्राप्त गरेको भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *