राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धनमा सिट बाँडफाँट, कांग्रेसलाई १०, माओवादीलाई ६ सिट

 

काठमाडौँ ।  राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि सत्तारुढ गठबन्धनले सिट बाँडफाँट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार विहान बसेको सत्तारुढ गठबन्धनको बैठकले संयुक्तरुपमा उम्मेदवारी दिने निर्णय गरेको बैठकमा सहभागी नेपाली कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

उनका अनुसार नेपाली कांग्रेसले १०, नेकपा (माओवादी केन्द्र)ले छ, नेकपा (एकीकृत समाजवादी)ले दुई र जनता समाजवादी पार्टी नेपालले एक सिटमा उम्मेदवारी दिने गरी सहमति भएको छ ।

बाँकी रहेको एक सिटमा भने मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ । उक्त निर्णय लगत्तै उम्मेदवार टुङ्गो लगाउन बालुवाटारमा माओवादी केन्द्रको बैठक सुरु भएको छ । साथै नेपाली कांग्रेसको बैठक सानेपास्थित पार्टी कार्यालयमा सुरु भएको छ ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन र भोलि उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका तय गरिएको छ । मनोनयन दर्तापछि उम्मेदवारको विरोधमा उजुरी दिने कार्य पुस २४ गते हुनेछ भने मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी अन्तिम नामावली पुस २६ गते प्रकाशित हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *