स्याउको फूल फुल्ने बेलामा मौसमले साथ दिँदा किसान खुसी

मुस्ताङ। मुस्ताङको स्याउ बगैँचा सेताम्मे भएका छन् । बगैँचाभित्रको स्याउका बोटहरु फूलेर सेताम्मे हुँदै जान थालेका हुन् ।

स्याउको राजधानीका रुपमा मुस्ताङ परिचित छ । यहाँस्थित कृषि तथा पशु विकास कार्यालयका प्राविधिक सहायक शेरबहादुर रावतले गर्मी बढेसँगैस्याउ बोटहरूमा फूल फुलेर सेताम्मे हुन थालेको बताए ।

स्याउलाई चिलिङ (चिस्यान)को आवश्यकता पर्ने प्राविधिक सहायक उनको भनाइ छ । स्याउलाई शीतोष्ण प्रदेशीय फलफूलको राजा भन्ने गरिएको उनको भनाइ छ ।

स्याउको फूल र फल लाग्न ४५ दिनको समय सात डिग्री सेल्सियसभन्दा कम तापक्रमको आवश्यकता पर्ने जनाइएको छ । त्यसपछि स्याउको फूल फुल्ने र फल लाग्ने समयमा तापक्रम न्यूनतम १० डिग्रीदेखि २० डिग्री सेल्सियससम्म तापक्रम आवश्यकता पर्ने प्राविधिक सहायक राउतले उल्लेख गरे ।

मुख्यगरी असोज र कात्तिक महिनामा स्याउको ‘पोस्ट हार्भेस्ट’ गरिएपछि स्याउ बोटको काँटछाँटलगायत स्याउको बगैँचा व्यवस्था गरेपछि बर्सेनि चैत र वैशाख महिनामा स्याउको फूल फुल्ने प्राविधिक सहायक राउतले जानकारी दिए ।
स्याउको गुणस्तर तथा उत्पादन वृद्धिका लागि स्याउ बोटमा फूल फुल्ने बेला पोलिनेशन (परागसेचन) आवश्यकता पर्दछ । स्याउका कतिपय प्रजातिहरू स्वतः प्राकृतिक रुपमा परागसेचन हुने र कतिपय स्याउका जातहरूलाई पर परागसेचनको आवश्यकता पर्ने प्राविधिक सहायक राउतले बताए ।

परागतसेचनका लागि हावा र मौरीको भूमिका हुने उनले जनाए । एक हेक्टर स्याउको क्षेत्रफलमा करिब छदेखि आठ वटासम्म मौरी घारको व्यवस्थापन गर्न सकिएमा स्याउको उपयुक्त ढङ्गबाट परागसेचन भई उत्पादन र गुणस्तर बढाउने जनाइएको छ ।

चालु वर्ष छ/सात पटकसम्म वर्षा र हिमपात भएको भए पनि स्याउ बोटमा फूल फुल्ने बेलामा प्रतिकूल मौसम, वर्षा र हिमपातले असर पुर्‍याउने गर्छ । स्याउको फूल फुल्ने समयलाई शीतोष्ण फूलका लागि निकै संवेदनशील समयको रुपमा लिने गरिएको छ ।

जिल्लाको लोमान्थाङदेखि तल्लो मुस्ताङको थासाङ गाउँपालिका क्षेत्रका स्याउ बगैँचाका बोटहरूमा फूल फुलेर सेताम्मे भइसकेको छ । स्याउको एक स्फरमा सात वटासम्म फूल फुल्ने गर्छ । अनधिकृत स्याउका हाँगाहरूमा फूल फुलेमा प्राविधिकको रुपमा आवश्यक फूलहरू रहने गरी फूललाई स्थापित गर्नुपर्ने कृषि तथा पशु शाखा मुस्ताङले उल्लेख गरेको छ ।

घरपझोङ–४ जोमसोमका किसान भूपेन्द्र शेरचनले स्याउको फूल फुल्ने बेलामा मौसमले पूर्ण रुपमा साथ दिनुपर्ने बताए । स्याउ बोटमा परागसेचन हुने समयमा वर्षा हुने र मौसम धुम्म भएमा स्याउ बोटमा ढुसी पलाएर स्याउको गुणस्तरमा असर पुर्‍याउने किसान उनको भनाइ छ । स्याउ बोटमा अझै पूर्ण रुपमा फूल फुल्न एक साता समय लाग्ने उनको भनाइ छ ।

यहाँका किसानलाई स्याउखेतीमा अनुदानलगायत किसानलाई स्याउखेतीको बारेमा जानकारी गराएर यहाँका कृषिसँग सम्वन्धित सरकारी निकायहरूले प्रशिक्षित तुल्याउने गरेको उनले जानकारी दिए ।

जिल्लामा स्याउखेतीका लागि सम्भावना रहेकाले सरकारले स्याउखेतीका लागि खेर गइरहेका सरकारी बाँझो जग्गालाई भाडाको दायरामा ल्याउने नीति बनाउन आवश्यक रहेको किसान उनी बताउछन् ।

रोजगार उपलब्ध नहुँदा धेरैजसो युवाहरू विदेश पलायन हुने गरेको जनाउँदै किसान शेरचनले सरकारले सरकारी जग्गालाई नाप नक्सा गरी उपयोगमा ल्याउन सकेमा किसानको आयस्रोतमा वृद्धि हुने र यसबाट सरकारले पनि राजस्व सङ्कलन गर्नमा टेवा पुग्ने बताए ।

जिल्लाका पाँच स्थानीय तहमा गरी स्याउको कूल ८९९.१६ हेक्टर क्षेत्रफलमा स्याउखेती गरिएको छ । यहाँ स्थानीय परम्परागत स्याउ ८३७.१६ हेक्टरमा र इटालीबाट आयात गरिएको उच्चघनत्व प्रविधिको ‘हाइब्रिड’ स्याउ ६२ हेक्टर क्षेत्रफलमा गरिएको कृषि तथा पशु सेवा शाखाको तथ्याङ्कमा उल्लेख छ । यसमध्ये स्याउको उत्पादनशील क्षेत्र स्थानीय जातका स्याउ ५७२ हेक्टर र ‘हाइब्रिड’ स्याउ ५५ हेक्टर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *